हरिहरपुरगढीमा नेतृत्व विकास सम्बन्धि पाँच दिने तालिम सुरु
मंसिर २, सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा आइतबार (आज) बाट नेतृत्व तथा क्षमता विकाससम्बन्धी पाँचदिने तालिम सुरु भएको छ । गाउँपालिकाभित्र सञ्चालित सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई लक्षित गरी गाउँपालिकाले तालिम आयोजना गरेको हो ।
तालिमको पहिलो दिन आइतबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का सहजकर्ता रबिन्द्र श्रेष्ठले प्रशिक्षण दिनुभयो । उहाँले सहकारीको अवधारणा, विकासक्रम सहकारीको मूल्यमान्यता र सिद्धान्त, सहकारी संस्था र अन्य संस्थाबीच फरक, सञ्चालक समितिको भूमिका र दायित्व, सहकारीको कोष व्यवस्थापन र महत्त्वलगायत विषयमा प्रस्ट पार्नुभएको कार्यक्रम संयोजक एवं पालिकाका आर्थिक विकास शाखा प्रमुख संजित कार्कीले जानकारी दिनुभयो ।
सहकारीमा हुनसक्ने जोखिमहरु र समाधानका उपाय, सुरक्षित ऋण लगानीको प्रकृया तथा चरणहरु र आवश्यक कागजातको विषयमा पनि श्रेष्ठले प्रशिक्षार्थीहरुलाई जानकारी दिनुभएको थियो ।
बागमती प्रदेशको बचत तथा ऋण सहकारी संघका कृष्णहरी कोइरालाले पनि प्रशिक्षण दिनुहुने पालिकाले जानकारी दिएको छ । तालिममा सहकारीका पदाधिकारी तथा कर्मचारीलाई पर्ल्स अनुगमन प्रणाली, सहकारी संस्थामा पर्ल्सको महत्त्व, सिद्धान्त तथा पर्ल्स प्रविधिको विषयमा जानकारी गराइनेछ । त्यस्तै सहकारीमा रणनीतिक योजना, आवश्यकता, महत्त्व र रणनीतिक योजना निर्माणको प्रकृया र चरणणहरुको विषयमा पनि प्रशिक्षण गराइने शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।
“सहकारीको साधारणसभाले दिएको निर्देशनअनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि व्यवस्थापकको भूमिका कार्यकारी, नेतृत्वदायी तथा संयोजनकारी हुनुपर्छ,” उहाँले भन्नुभयो, “सहकारी सञ्चालनले विधि र प्रक्रिया राम्रोसँग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुँदै जाने भएकाले सहकारीका पदाधिकारी र कर्मचारीहरुका लागि तालिम सञ्चालन गरिएको हो ।”
सहकारी संस्थामा हुने सम्पूर्ण कामको व्यवस्थापन गर्ने, व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि व्यवस्थापक तथा पदाधिकारीले सहकारी ऐन, नियम, संस्थाको विनियम, निर्देशिकालगायतका विषयमा जानकारी राख्नुपर्ने भएकाले व्यवस्थापक तथा पदाधिकारीहरुका लागि तालिम सञ्चालन गरिएको तालिम संयोजक कार्कीले बताउनुभयो ।