रक्तमाला मन्दिरमा फूलपाती भित्र्याउने तयारी अन्तिम चरणमा, ९० प्रतिशत काम सम्पन्न

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका-४ ढकालगाउँस्थित रक्तमाला मन्दिरमा बडादशैँको फूलपाती भित्र्याउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रमको तयारी ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको आयोजकले जनाएको छ ।कमलामाई नगरपालिका-४ का वडा अध्यक्ष तथा रक्तमाला मन्दिर संरक्षण समितिका अध्यक्ष महेन्द्र ढकालको अनुसार हरेक वर्ष बडादशैँको फूलपातीका दिन आयोजना हुँदै आएको परम्परागत कार्यक्रमलाई यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन मन्दिर परिसरको सरसफाइ समेत गरिएको छ ।

नेपालीहरूको महान् पर्व बडादशैँको फूलपातीका दिन रक्तमाला मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याउने परम्परा रहिआएको छ । सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा भक्तजनहरूको सहभागितामा फूलपाती परिक्रमा गरी संयुक्त सलामी अर्पण गर्ने कार्यक्रम तय गरिएको छ ।

रक्तमाला मन्दिर संरक्षण समितिको आयोजनामा हुने उक्त समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रममा फूलपाती परिक्रमा तथा संयुक्त सलामीसँगै विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछ ।

फूलपातीका दिन रक्तमाला मन्दिरमा पूजाआजा तथा दर्शनका लागि ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् भने धार्मिक आस्था, मौलिक संस्कृति र परम्परासँग जोडिएको यस कार्यक्रमले स्थानीय धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै आएको छ ।

आयोजकले बडादशैँको पावन अवसरमा स्थानीयवासी, भक्तजन तथा सर्वसाधारणलाई परिवारसहित उपस्थित भई फूलपाती भित्र्याउने समारोहमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *