आयोग बनाउनमै व्यस्त तीनपाटन सरकार, उच्चस्तरीय छानबिन समिति गठनप्रति एमालेको आपत्ति
सिन्धुली/औषधि खरिद तथा वितरणमा अनियमितता र गुणस्तरहीन औषधि प्रयोग भएको विषयमा गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग उठिरहेका बेला तीनपाटन गाउँपालिकाले पुनः उच्चस्तरीय छानबिन समिति गठन गर्न खोजेको भन्दै नेकपा एमाले तीनपाटन गाउँपालिका कमिटीले आपत्ति जनाएको छ ।
एमालेले यसअघि गठन गरिएको सर्वदलीय तथा सर्वपक्षीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नगरी अर्को समिति गठन गर्ने गाउँपालिकाको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएका औषधिको गुणस्तरमाथि प्रश्न उठेपछि गाउँकार्यपालिकाको कार्यालयले २०८३ असोज ५ गते गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा सर्वदलीय तथा सर्वपक्षीय छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले स्थलगत अनुगमन र प्राप्त कागजातका आधारमा औषधिको खरिद, आपूर्ति तथा गुणस्तरसम्बन्धी समस्या औँल्याउँदै प्रतिवेदन बुझाएको एमालेको विज्ञप्तिमा उल्लेख छ । प्रतिवेदनमा औषधि गुणस्तर परीक्षणका क्रममा गुणस्तरहीन देखिएको विषय समेटिएको र गम्भीर लापरबाहीको आरोप लागेका राम बेचन साहमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको एमालेले जनाएको छ ।
प्रतिवेदनको सिफारिस कार्यान्वयन गर्नुको सट्टा पुनः अर्को उच्चस्तरीय समिति गठन गर्न खोज्नुले दोषीलाई कारबाहीबाट जोगाउन खोजिएको आशंका उत्पन्न गरेको एमालेको आरोप छ ।
एमालेले गाउँपालिकाका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरूमा अझै पनि गुणस्तरहीन र खान अयोग्य प्रमाणित भएका औषधि वितरणमा रहेको दाबी गर्दै त्यस्ता औषधि तत्काल नियन्त्रणमा लिई जफत गर्न माग गरेको छ ।
पार्टीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर लापरबाही गर्ने व्यक्तिलाई उन्मुक्ति दिन नहुने भन्दै पुरानो छानबिन प्रतिवेदन तत्काल कार्यान्वयन गरी दोषी देखिएकामाथि आवश्यक कारबाही गर्न गाउँपालिकासँग माग गरेको छ ।
नयाँ समिति गठन गर्ने भन्दा पहिले पुरानो प्रतिवेदन कार्यान्वयन गरी नागरिकको स्वास्थ्यसँग जोडिएको विषयमा जवाफदेहिता सुनिश्चित गर्नुपर्ने एमालेको माग छ ।



