धान बाली भित्र्याउने समयमा झरी परेपछि सिन्धुलीका किसान चिन्तित

कात्तिक १९,सिन्धुली /धान बाली भित्र्याउने समयमा झरी परेपछि सिन्धुलीका किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् । धेरैजसो किसानको काटी सकेको धान खेतमै भिजाएको छ भने थारैजसोले दशैँअघि नै धान भित्र्याइसकेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् ।

जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो ।
चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने समयमा झरी परेपछि थप समस्या भएको कमलामाई नगरपालिका –४ का ठुलोकान्छा पोख्रेलले गुनासो गर्नुभयो । “ पन्ध्र कठ्ठा भन्दा बढी खेतको धान झरीले भिजायो । तिहारपछि उथन्क्याउन हुन्छ भनेर दशैपछि काटेको धान खेतमै छ । बर्षभरी खाने धान झरीले सखाप पा¥यो । हामी त बाजेको पालादेखि कृषि मै निर्भर छौँ, ” उहाँले भन्नुभयो ।

उहाँसँगै छरछिमेकको पनि उस्तै हाल छ । पानी परे पछि कतिपय किसानलाई काटेको धान खेतमा उम्रने चिन्ता छ भने कतिपयलाई धान कसरी भित्रियाउने भन्ने चिन्ता बढेको छ ।
फाँट तथा पहाडी क्षेत्रका खेत काम गर्न नमिल्ने गरी हिलाम्मे भएको कमलामाई ४ की किसान मनमाया श्रेष्ठको भनाई छ । यता कृषी विकास कार्यालय सिन्धुलीले मौसम हेरेर धान काट्न किसानलाई अनुरोध गरेको छ । धान थन्क्याउने बेला क्षती भएमा जिल्लामा झन खाद्यन्न समस्या आउने भएकाले मौसमविदले जारी गर्ने सुचना हेरेर धान काट्न किसानलाई कृषी विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण कुमार खनालको सुझाव छ ।

जिल्लामा यस वर्ष १३ हजार १ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ८ सय ५४ हेक्टर धान बाली लगाइएको खेती बाढीले क्षती गरेको छ । भित्रियाउने बेला पनि मौसमले साथ नदिई क्षतीको संभावना बढ्दा जिल्लामा खाद्यन्न अभाव हुने निष्चित जस्तै भएको धेरैको बुझाई छ ।
जिल्लाको कमलामाई फाँट,दुधौलीको कमलाखोँच,तीनपाटनको भिमस्थान,मरिण र हरिहरपुरगढीमा विशेष धानखेती गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *