• भदौ २४,सिन्धुली/जिल्लाको भगवती अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत छात्र रजनेश साहको मृत्यु प्रकरण विवादमा परेको छ । विद्यालयले होस्टेलमा आत्महत्या प्रयास गरेका साहलाई उद्धार गरी काठमान्डौँमा उपचारको क्रममा मृत्यु भएको बताएको छ । तर अभिभावकले भने आत्महत्या नभई हत्या गरेको भन्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

    अभिभावक र आफन्तले आइतबार विद्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । कक्षा ८ मा अध्ययनरत धनुषाको लक्ष्मिया गाउँपालिकाका छात्र शाहले भदौ २ गते आत्महत्या प्रयास गरेको र पाँच दिनपछी उपचारको क्रममा काठमान्डौँमा मृत्यु भएको विद्यालयले जनाएको छ ।

    विद्यालयलका प्रिन्सिपल कृष्ण उप्रेतीले रक्षाबन्धनमा घर जाने इच्छा जाहेर गरेकोमा अभिभावकले विद्यालयमै बुवा र बहिनी आएर एतै मनाउने भनेको तर घरबाट कोहि नआएपछी झुण्डिएको बताउनुभयो । “ अन्य साथीसँग पनि उसले घर जान नपाउने पाउँदिन भन्ने गुनासो गरेको रहेछ । रक्षाबन्धनमा कोहि घरबाट नआएपछि कोठाको भेन्टिलेटरमा गम्छामा झुण्डिएको अवस्थामा फेला प¥यो । हामिले उसलाई सिन्धुली अस्पताल लगेका थियौँ । त्यहाबाट धुलिखेल अस्पताल रिफर ग¥यो । धुलिखेलले पनि काठमान्डौँ रिफर गरेको पाँच दिनमा मृत्यु भयो ; प्रिन्सिपल उप्रेतीले भन्नुभयो । अभिभावकले आत्महत्या नभई हत्या गरेको भनी लगाएको आरोपमा सत्यता नभएको उहाँले बताउनुभयो ।

    मृतक विद्यार्थीका अभिभावकले आत्महत्या नभई आफ्नो छोराको हत्या नै गरेको दाबी गरेका छन् । विद्यालयले आफ्नो छोरा आफै झुण्डिएको प्रमाण देखाउनुपर्ने मृतकका बुवा गणेषकुमार साहले बताउनुभएको छ ।“ विद्यालयले रक्षाबन्धनको दिन अभिभावक लिन नआएको कारण झुण्डिएर आत्महत्या प्रयास गरेको भन्ने हल्ला फिँजायो । तर विद्यालयबाट हामिलाई लिन आउनु भनेर फोननै आएको छैन । ” साहले भन्नुभयो ।

    “ हामिलाई विद्यालयले फोन गरेर आत्महत्या प्रयास गरेका छ पनि भनेन । बेहोस भएर लगिएको भन्ने कुरा गरेका थिए । पछि रातको ११ बजे मात्रै झुण्डिएको भन्ने थाहा पाए ; साहले थप्नुभयो । विद्यालयको हरेक कोठामा सिसिटीभि क्यामेरा भएपनि घटना घटेको कोठाको सिसिटीभि बिग्रीएको भन्ने विद्यालयको कुरामा शंकास्पद रहेको उहाँले आरोप लगाउनु भयो ।

    विद्यालयलको दबाबमा प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय अगाडि समेत विरोध प्रदर्शन गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता अनिल कुमार खड्काले भने मृतकको आफन्तले धुलिखेल अस्पतालमै उपचारको क्रममानै सत्यतथ्य छानबिनको लागि जाहेरी दिइसकेको बताउनुभयो ।“ अहिले त्यहि जाहेरीको आधारमा अनुसन्धान भइरहेको छ । अस्पतालको रिपोर्टमा पनि झुण्डिएर मृत्यु भएको भन्ने छ । अर्को एउटा एउटा स्वाब परिक्षणको लागि ल्याबमा पठाइएको थियो । त्यसको रिपोर्ट आउन बाँकि छ । ” खड्काले भन्नुभयो । “यदि श्वाबको रिपोर्टमा शंकास्पद भेटिए आफै उहाँहरुलाई पुरक जाहेरी दिन लगाउँछौँ । अन्यथा निर्दोषलाई समातेर अनुसन्धान गर्न मिल्दैन । ; उहाँले थप्नुभयो ।

    अभिभाकले भने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष,प्रिन्सीपल र अन्य दुईजनाको नाममा किटानी जाहेरी लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।