• जेठ २, सिन्धुली/सिन्धुलीमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनल खेलमा ब्लु अल्पाइन क्लब सिन्धुली र नमूना जनउत्थान डकाहा भिड्ने भएका छन् । । फाइनल खेल भोलि बिहिबार हुने छ ।

    बुधवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ६ र ब्लु अल्पाइन क्लव सिन्धुली बिच भएको प्रतिष्पर्धामा दुवै टोलिले १/१ गोल गरेपछि पेनाल्टी सुटआउटबाट वडा नम्बर ६ लाई ब्लु अल्पाइन क्लबले ४—२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा नमूना जनउत्थान डकाहा र जनहितैसि युवा क्लब मरिण बिच कडा प्रतिष्पर्धा भएको थियो । दुवै टिमले खेल समय अवधिभर गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट बिजेता चयन गरिएको थियो । जसमा जनउत्थान डकाहाले जनहितैसि युवा क्लब मरिणलाई १०/९ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

    फुटबल सङ्घ सिन्धुलीको आयोजनामा वैशाख २७ गतेबाट जिल्ला लिग फुटबल प्रतियोगिता भइरहेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वार्षिक कार्यतालिकाअनुसार भइरहेको प्रतियोगितामा जिल्लाका कूल ८ वटा टिमको सहभागिता रहेको फुटबल सङ्घ सिन्धुलीका अध्यक्ष सुरेश थापा मगरले जानकारी दिनुभयो ।

    जिल्ला लिगको विजेतालाई ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने थापाले बताउनु भयो । जिल्ला लिगबाट छनोट टिमले बागमती प्रदेश लिग फुटबल प्रतियोगिता खेल्न पाउँने छ ।