• असार २९, सिन्धुली/सिन्धुलीमा ५८.५ प्रतिशत धान रोपाइ सकिएको छ । असारको २९ गते सम्म जिल्लाको खेती योग्य जमिन १६ हजार हेक्टर मध्ये ९ हजार ३ सय ६४ हेक्टर अर्थात ५८.५ प्रतिशत जमिनमा धाई रोपाई सकिएको हो ।
    यो बर्ष ढिला मनशुन भएका कारण धान रोपाई ढिला भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका सहायक प्राविधिक राम प्रसाद पाण्डेको भनाई छ । असारको अन्तिम सम्ममा ७५ प्रतिशत रोपाई हुने गरेकोमा यो बर्ष ढिला गरेर मनशुन भएकाले पहाडी क्षेत्रमा भर्खर रोपाई सुरु भएको प्राविधिक पाण्डेले जानकारी दिनुभयो । सिन्धुलीमा बिशेषगरी उन्नत जात अन्तर्गत सावित्री, रामधान, मकवानपुर १, राधा ४, सुख्खा ३ र हाइव्रिड अन्तर्गत यु.एस ३१२, यु. एस, ३०५ धान रोपिने गरिन्छ ।
    जिल्लाको दुधौली, कमलाखोँच, मरिण क्षेत्र, कमलामाई नगरपालिका, हरिहरपुरगढीमा सिँचाईको सुबिधा भएको कारण बढि धान रोपाई भएको कृषि ज्ञान केन्द्रका प्राविधिक पाण्डेले बताउनु भयो ।
    मनशुन सुरु भएकाले जिल्लाको अन्य क्षेत्रमा पनि रोपाई सुरु भएको छ । अघिल्लो बर्ष १५ हजार ४ सय २२ हेक्टर अर्थात ९६ प्रतिशत धान रोपाई भएकोमा ४२ हजार ९ सय ४२ मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ । सिन्धुलीमा कुल ६२ हजार ७ सय १३ खेतियोग्य जमिन छ ।