• भाद्र १६, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएपछिको १ सय दिनको समिक्षा गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिले एक सय दिनमा गरेको कामहरुको प्रगति विवरण सार्वजनिक गरिएको हो ।
    गत बैशाख ३० गते सम्म स्थानिय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले आफुँ बहाल भएपछिको १ सय दिनमा भएका कामहरुको प्रगती ३१ बुँदामा समेटेर सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा १ सय दिनको कामहरुको विवरण प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष मोक्तानले सुत्केरी हुँदाको बखत गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कामको सुरुवात गरिएको बताउनुभयो । वडाको टोल टोलमा गएर बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको सुरुवात गरेको अध्यक्ष मोक्तानले बताउनुभयो । ३ लाख सम्मको बजेट एवं लागत अनुमान गरिएका योजना तथा कार्यक्रमहरु वडा कार्यालयबाटै सम्झौता गर्ने कार्यको थालनी गरिएको अध्यक्ष मोक्तानको भनाई छ । लैँगिक समानताका लागि मरिण गाउँपालिका भित्रका छोरी जन्माउने सुत्केरीलाई ५ हजार पोषणभत्ता दिने कार्यको सुरुवात भएको अध्यक्ष मोक्तानले बताउनुभयो । १५ शैय्याको आधारभुत अस्पताल बजेट सुनिश्चितता गरी करिव २५ करोड बराबरको ठेक्का प्रकृया सुरु भएको अध्यक्ष मोक्ताले जनाउनुभयो । २ करोड २० लाख बराबरको पशुपन्छी प्रवद्र्धन वृहत साझेदारी कार्यक्रमको सम्झौता गरी काम सुरु गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो । आ।व। ०७९।८० को बार्षिक नीति, कार्यक्रम तथा बजेटलाई सुव्यवस्थित, विधिसम्मत ढंगबाट कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड निर्माण एवं संशोधन, गर्भवती, सुत्केरी प्रोत्साहनका लागि गर्भवती जाँच यातायात खर्च बापत २ हजार दिने कार्यको शुरुवात, वृहत् मरिण वृक्षारोपण कार्यक्रम सञ्चालन, मरिणका सम्पूर्ण वडाहरुमा वैकल्पिक व्यवस्था सहितको उर्जा एवं विद्युत आपूर्तिको व्यवस्था, सार्वजनिक प्रशासनलाई उत्तरदायी, जवाफदेही एवं नागरिकमैत्री बनाउन गाउँ कार्यपालिकाको कार्यालयमा जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति एवं नागरिक सहायता कक्षको स्थापना गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो ।