• १० असार, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा १ अर्ब ३४ करोड ७६ हजार बजेट बिनियोजन गरेको छ । आज कमलामाई नगरपालिकाको नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
    विनियोजित बजेटको महत्वपूर्ण प्राथामिकताका विषयगत क्षेत्रहरु तथा आयोजना, कार्यक्रमहरु मध्ये यस आर्थिक वर्षमा संघ र प्रदेश सँग समपुरकमा गरिने कार्यक्रमहरुमा १० करोड विनियोजन गरिएको कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकाटाले बताउनु भयो । संघीय सरकारबाट विभिन्न आयोजनाहरुका लागि विशेष अनुदान स्वरुप प्राप्त ३ करोड ५० लाख सम्बन्धित आयोजनामा खर्च हुने गरी विनियोजन गरिएको हो ।
    संघीय सरकारबाट प्राप्त सर्शत अनुदान ५० करोड ९२ लाख तोकिएको क्षेत्रमा खर्च गर्ने गरी विनियोजन गरिएको छ । प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान २ करोड ६२ लाख ७६ हजार तोकिएको क्षेत्र र शीर्षकमा खर्च गर्ने गरी विनियोजन गरिएको हो ।
    नगरको सीटी हल निर्माणमा यो आर्थिक वर्ष नगरविकास कोषको ऋण सहित ८ करोड ३३ लाख विनियोजन गरिएको छ । केही पेशा, व्यावसाय गर्न चाहने युवाहरुलाई विना धितो, विना व्याजको ऋण कार्यक्रमलाई निरन्तरता दिदै नगर युवा स्वरोजगार कार्यक्रमलाई यस आर्थिक वर्ष रु. १ करोड विनियोजन गरिएको छ ।

    विकास निर्माण कार्यलाई व्यवस्थित रुपमा लैजान गर्नुपर्ने पुजिगत अनुसन्धानको कार्यलाई ८० लाख विनियोजन गरिएको छ । नगरको पर्यटन प्रवर्द्धन र विकासको कोशेढुंगाको रुपमा देखिएको ऐतिहासिक सिन्धुलीगढीको विकासको लागि रु. १ करोड विनियोजन गरिएको छ ।

    नगरक्षेत्रको शान्ति, सुरक्षालाई ध्यान दिदै नगरका विभिन्न क्षेत्रमा सोलार सिस्टम र सीसी क्यामरा जडानका लागि रु.६० लाख विनियोजन गरिएको छ । नगरको विभिन्न फुटकर योजनाहरुको लागि रु. २ करोड र नीति तथा कार्यक्रम अनुसारका प्राथामिकताका कार्यक्रमहरुका लागि रु. २ करोड विनियोजन गरिएको छ । नगरको विभिन्न वडागत विकासात्मक आयोजना तथा कार्यक्रमहरुका लागि रु. १५ करोड विनियोजन गरिएको देबकोटाले बताउनु भयो । त्यस्तै नगरको विभिन्न प्रकोपहरु एवं विपदको अवस्थालाई सामाना गर्न नगरपालिकाको प्रकोप व्यवस्थापन कोषको लागि रु. ५० लाख विनियोजन गरिएको छ ।
    नगरपालिकाले सडक वोर्ड लगायत विभिन्न संस्थासँग गरिने लागत साझेदारीका लागि रु.६० लाख म्याचिङ्ग कार्यक्रममा विनियोजन गरिएको छ । नगरपालिकाको संचालन तथा प्रशासनिक कार्यको लागि रु. २३ करोड ६४ लाख विनियोजन गरिएको छ । माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धी गर्दै सम्पूर्ण शैक्षिक गतिविधिलाई प्रभावकारी र परिणाममुखी बनाउन नगरपालिकाले आफूले विनियोजन गर्ने बजेटबाट रु. ४ करोड ५० लाख विनियोजन गरिएको हो ।
    त्यस्तै नगर क्षेत्रभित्र कृषिको उत्पादन अभिवृद्धी गर्न विभिन्न क्रियाकलापहरु संचालनका लागि आफूले विनियोजन गर्ने बजेटबाट रु. १ करोड ,भौगोलिक रुपमा विविधतापूर्ण रहेको कमलामाई नगरक्षेत्रभित्र विभिन्न पशुपालन व्यावसाय रहेका छन् । यीनिहरुको उत्पादन क्षमता र नश्लिय सुधारका कार्यक्रमहरु र पशुपालक किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु संचालन गर्न १ करोड १० लाख विनियोजन गरिएको छ ।
    स्वस्थ नागरिक विना समुन्नत नगरको परिकल्पना गर्न सकिन्न त्यसैले नगरवासीको स्वास्थ्यलाई ध्यान दिदै स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यहरु संचालन गर्न नगरपालिकाको तर्फबाट रु. ८० लाख विनियोजन गरिएको छ । स्वस्थ नागरिक हुन नगरको स्वच्छ वातावरण हुन नितान्त आवश्यक छ । नगरको फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणका लागि रु.५० लाख विनियोजन गरिएको छ । व्यवस्थित शहरीकरणका लागि भवन र वस्ती विकास महत्वपूर्ण हुन्छ यसर्थ यसको व्यवस्थापनका लागि विभिन्न क्रियाकलापहरु संचालन गर्न रु.१० लाख विनियोजन गरिएको छ । नगरपालिकाको क्षेत्रभित्र आफनो अधिकार अन्तर्गत पर्ने व्यापार व्यावसाय र उधोगहरुको स्थापना, प्रबर्द्धन कार्यका लागि ९ लाख विनियोजन गरिएको छ ।
    विभिन्न पछाडि परेका एवं पारिएका जाति, वर्ग, लिंङ्ग एव त्यस प्रकारका लक्षित व्यक्ति एवं समुहलाई मुल धारमा ल्याई विकास गर्ने कार्यका लागि लक्षित वर्ग तथा महिला सशक्तिकरणको कार्यक्रमका लागि रु. ३० लाख विनियोजन गरिएको उपप्रमुख देबकोटाले प्रस्तुत गर्नुभएको छ । अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहने सहकारी क्षेत्र सम्बन्धी विभिन्न कार्यक्रमहरुका लागि रु. ९ लाख विनियोजन गरिएको छ ।
    स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहने न्यायीक समितिका विभिन्न कार्यहरु संचालन गर्न रु. १५ पन्ध्र लाख विनियोजन गरिएको छ । नगरपालिकाको आयलाई बढोत्तरी एवं सुद्धिढीकरण गर्ने विभिन्न राजश्व सम्बन्धी कार्यहरुका लागि रु. ७ लाख र नगपालिकाको वित्तीय अनुशासन सम्बन्धी अभिमुखीकरण, लेखा अनुगमन, नगरको नीति, कार्यक्रम र बजेट सम्बन्धी किताव प्रकाशन लगायत विभिन्न वित्तीय तालिम कार्यक्रमहरु संचालनका लागि रु. ७ लाख विनियोजन गरिएको छ ।
    यसैगरी नगरपालिकाले योजना तथा पूर्वाधारको सम्बन्धमा गर्नुपर्ने आवश्यकीय चाल कार्यको लागि रु. १० लाख, सामाजिक सुरक्षा भत्ता र पञ्जिकरण कार्यलाई व्यवस्थित गर्न रु. ११ लाख विनियोजन गरिएको छ । नगरपालिकाले गर्ने कार्यहरुलाई प्रविधिमैत्री बनाउन नयाँ नयाँ प्रविधिको प्रयोग र जडान आवश्यक हुन्छ । नगरपालिकामा सूचना र प्रविधिको विकासको लागि ४३ लाख विनियोजन गरिएको छ ।
    नगरपालिकाको प्रशासनलाई सुद्धिढीकरणका लागि रु. ४ लाख, आन्तरिक लेखा परीक्षणका सम्बन्धमा अभिमुखीकरण, अनुगमन लगायतका कार्यक्रमहरुका लागि रु. ४ लाख विनियोजन गरिएको छ । बैदेशिक सहयोग रहेको नेपाल सरकारबाट नगरपालिकालाई प्राप्त भैरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित र परिणाममुखी बनाउन रु. १५ लाख विनियोजन गरिएको छ । नगर क्षेत्रमा भलिवल, फुटवल, क्रिकेट, व्याडमिन्टन लगायतका विभिन्न खेलहरुको विकास, वडाहरुलाई प्रतिस्पर्धात्मक खेल दमा सहभागी अभिवृद्धी गर्ने कार्यहरुका लागि रु. ३५ लाख बजेट विनियोजन गरिएको छ ।
    नगर क्षेत्रभित्र रहेको ऐलानी तथा अव्यवस्थित जग्गाको अभिलेखीकरण र भूमिहिन एवं सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण सम्बन्धी विभिन्न कार्यक्रमहरुका लागि रु.२५ लाख विनियोजन गरिएको छ । सार्वजनिक सेवा प्रवाहमा लागिपर्ने राष्ट्रसेवक कर्मचारीहरुको हाल खाईपाई आएको तलवमानमा १५ (पन्ध ) प्रतिशतले वृद्धी गर्ने संघीय सरकारको निर्णय भए अनुसार नगरपालिकाले आफ्ना कर्मचारी, शिक्षक र नगरप्रहरीको तलवमानमा १५ प्रतिशतले वृद्धी गरेको छ । हाल खाईपाई आएको महङ्गी भत्तालाई समेत निरन्तरता दिइएको छ । नयाँ तलवमान मिति २०७९ साल श्रावण १ गते देखि लागूहुने छ ।