• काठमाडौं/सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरस विरुद्ध लड्न ६४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
    अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शनिवार कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ भने कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए।
    संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई दिइँदै आइएको जोखिम भत्ता संक्रमण कायम रहेको अवधिसम्मलाई निरन्तरता दिइएको छ।
    मन्त्री पौडेलले कोरोना संक्रमितको सेवालाई मध्यनजर गर्दै सबै अस्पतालको जानकारी र बेडको उपलब्धताबारे नियमित जानकारी दिने व्यवस्था मिलाइएको जनाए। सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने भनिएको छ।
    साथै कोभिड – १९ महामारी अवधिभर उद्योगहरूलाई अक्सिजन उत्पादन गर्न लाग्ने विजुलि महशुलमा ५० प्रतिशत छुट दिइने पनि जनाइएको छ। सरकारले कोभिडविरूद्धको औषधि आयात गर्दा लाग्ने भन्सार महशुलमा पनि छुट दिने जनाएको छ।