• पछिल्लो चरणमा नेकपा भित्रको विवाद यतिसम्म चुलियो कि कित्ता र गुटबन्दीको प्रष्ट रुप सडकमै पोखियो । प्रधानमन्त्री केपी ओलीले एक पद छाड्नुपर्ने विषय प्रमुख रुपमा उठान हुनथालेपछि पक्ष र विपक्षमा पार्टीभित्र ठूलै खैलाबैला मच्चिन थाल्यो । केन्द्रमा छताछुल्ल पोखिएको समस्याले जिल्लास्तरमा समेत प्रभाव पार्न सुरु गर्यो । नेकपा सिन्धुलीमा समेत कार्यकर्ताहरुले पार्टी एकताको नाम भजाउँदै गुटगत समर्थनमा उत्रिएर लोक हँसाए । यसैवीचमा कोरोनाको संक्रमण समुदायमा फैलिँदै गएपछि आकस्मिक रुपमा ५० बेडको आइसोलेशन भवन निर्माण कार्य सुरु भयो । स्वास्थ्य सेवा जस्तो पवित्र कार्यमा पनि नेकपाका कार्यकर्ताहरुले सामाजिक सन्जाल मार्फत गुटगत रुपमा वकालत गर्न छोडेनन् । यस्तो बेला पार्टी नेतृत्वले विषयलाई सँस्थागत गर्न किन सकिरहेको छैन ? आइसोलेशन भवन निर्माणको विषय जस अपजस लिने माध्यम किन बनिरहेको छ ? प्रस्तुत छः यीनै विषयहरुसंग सम्वन्धित रहेर नेकपा सिन्धुलीका अध्यक्ष एवं बागमती प्रदेश सांसद लेखनाथ दाहाल (राजन) संग सिन्धुली खबर डटकम तथा सिन्धुली अपडेट साप्ताहिकका लागि नविन श्रेष्ठले गर्नुभएको कुराकानी ।

    नेकपाको विवाद मुख्य रुपमा केपी शर्मा वलीले एक पद छाड्नु पर्छ भन्ने थियो । तर अहिलेको कार्यदलको प्रतिवेदनले त केहि मन्त्री हेरफेर गर्ने प्रस्ताव ल्याएको छ यसले समस्याको समाधान गर्छ त ?
    – समग्रमा हाम्रो पार्टी भित्र वैचारिक हिसावले कुनै पनि विवाद छैन । हाम्रो विचार, नीति, योजना र कार्यक्रम, कार्ययोजनाको सन्दर्भमा, कार्यनीतिको सम्बन्धमा र रणनीतिको सम्बन्धमा हाम्रो पार्टी स्पष्ट छ । हामी समाजवादसम्म जाने र समाजवादसम्म जानको लागि हामीले अपनाएको लोकतान्त्रिक विधि, बैधानिक तवरबाट प्रत्यक पाँच वर्षमा जनतासम्म गएर अनुमोदित हुँदै निरन्तर समाजवादको बाटो तयार गर्ने भन्ने कार्यनीति छ । कार्यनीतिमा हामी स्पष्ट छौं । र जहाँसम्म हाम्रो विवादको विषय उठेको छ, पछिल्लो समयमा त्यो संगठनात्मक सेटिङमा, संगठनात्मक व्यवस्थापनमा केहि जटिलताहरु पैदा भएको छ । संगठनात्मक व्यवस्थापनमा ठिक ढंगले हामीले चाहिँ योग्य र इमान्दारलाई केन्द्रिकरण गर्ने, योग्य र इमान्दारलाई जिम्मेवारी दिने र भूमिका प्रदान गर्ने विषयमा हाम्रो केहि कुराहरु मिलेका छैनन् । हाम्रो जोड–कोड मिलेको छैन । हाम्रो केहि बुझाईमा एकरुपता पैदा गर्न सकिएन । अनेकताहरु छन् । त्यहिँ हाम्रो मुख्य समस्या हो । त्यहि समस्याको वरिपरी रहेर नै विगतका केहि महिनादेखि गोलचक्कर मारि रहेको छ । मुख्य कुरा अहिलेको कार्यदल, कार्यदलले जे विषय वस्तु प्रतिवेदन पठायो, आधारभूत हिसावले कार्यदलको प्रतिवेदनको सुधझावको अक्षरस पालना गर्दा हाम्रा केहि समस्याहरु हल हुन्छन् । फेरी पनि हाम्रा समस्या भनेको हाम्रो इमान्दारितामा छ । समस्या नियतमा छ । असल नियत सहित इमान्दारिकताका साथ सबैले आ–आफ्नो ठाँउबाट आ–आफ्नो भूमिका पूरा गर्दा अगाडी वढ्न सकिन्छ । अस्थायि ढंगले समस्याको हल गर्न सकिन्छ । यो अस्थायि युद्धविराम जस्तो पनि हो । कमसेकम विचारात्मक संघर्ष, सत्ता संघर्षहरु एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन् । अहिले विस्तारै सहि विचार, नीतिलाई स्थापित गर्ने र गतल विचार, प्रवृत्ति बोकेर हिँड्नेहरुलाई विस्तारै डिमरलाईज गर्दै जाने र विस्तारै सहि विचार हावी हुँदै जाने वीचको सँक्रमणकालिन अवधि पनि भएको हुँदा यो विवादको स्थायि हल भन्न त सकिँदैन । प्रतिवेदनले विवादको अस्थायि समाधान दिन सक्छ र विवादको स्थायि समाधान भनेको माधिवेशन नै हो । माधिवेशन सम्म पुग्दा हाम्रा नीति, योजना र कार्यक्रमहरु नीरुपण हुन्छन् र कार्यविभाजनहरु पनि कार्यकर्ताले विभाजन गरिदिन्छन् । नेतृत्वको योग्यताको पनि कार्यकर्ताले मापन गरिदिन्छन् । त्यसको स्थायि विधि महाधिवेशन नै हो । महाधिवेशन सम्म पुग्नको लागि पुलको काम यो प्रतिवेदनले गर्छ भन्ने मलाई लाग्छ ।

    तपाईंले सामाजिक सञ्जाल मार्फत सरकारले समाजवादी कार्यदिशा पक्डन नसकेको भनेर असन्तुष्टि व्यक्त गर्नु भएको थियो । अहिलेका केहि मन्त्रिहरु हेरफेर गर्दैमा सरकार नयाँ ढंगबाट अगाडी वढ्ने देख्नु हुन्छ ?
    – हामीले अवलम्बन गरेको समाजवादी कार्यदिशा छ, यो संबैधानिक व्यवस्था नै हो । नेपालको सन्दर्भमा संविधानमा नै स्पष्ट लेखिएको छ कि ‘समाजवाद उन्मुख अर्थतन्त्र र सरकार हुने छ’ भनिएको छ । त्यस कारण समाजवाद उन्मुख अर्थ व्यवस्थाको निरुपण नगरी समाजवादमा पुग्न सकिदैन । अर्थतन्त्र, दलाल नोकरसाही पुँजीवादी अर्थतन्त्र छ । त्यसलाई सुधार गर्ने प्रयत्न नै गरेका छैनौं । अहिलेको सरकारले जहाँ जोड गर्नुपर्ने त्यहाँ जोड पुगेको छैन । मुलभूत रुपमा समाजवादी अर्थतन्त्र निवारण नगरिकन समाजवादको आधार तयार हुँदैन । अर्थतन्त्रको हिसावले दलाल नोकरसाही पुँजीवाद माथि हस्तक्षेप गर्ने र राष्ट्रिय स्वाधिन अर्थतन्त्रको आधार तयार गर्ने कुरामा हाम्रा केहि कम्जोरीहरु छन् । ती कम्जोरीलाई सच्याउन सक्नु पर्छ । यहि तरिकाबाट हामीले सिँङ्गो समाजवादी कार्यदिशाको कोर्षमा जान सकिदैन । त्यसकारण मैले नेतृत्वलाई वारम्वार भन्ने गरेको छु, ‘ती कम्जोरीहरु मुहान देखि नै सफा गर्नु पर्यो । नेतृत्वले नै बोल्ड डिसिजन लिनु पर्यो र सरकारका सबै कार्यक्रमहरु पार्टीको नीति योजना कार्यक्रम अनुरुप हुनु पर्यो । पार्टीको घोषणा पत्र अनुरुप हुनुपर्यो ।’ मैले यहि कुरालाई जोड गर्न खोजेको हो । यसलाई वदल्न निरन्तर प्रयत्न गरिरहेका छौं । जति गर्नु पर्ने हो त्यति गर्न सकिएको छैन ।

    “अर्थतन्त्रको हिसावले दलाल नोकरसाही पुँजीवाद माथि हस्तक्षेप गर्ने र राष्ट्रिय स्वाधिन अर्थतन्त्रको आधार तयार गर्ने कुरामा हाम्रा केहि कम्जोरीहरु छन् । ती कम्जोरीलाई सच्याउन सक्नु पर्छ । यहि तरिकाबाट हामीले सिँङ्गो समाजवादी कार्यदिशाको कोषमा जान सकिदैन । त्यसकारण मैले नेतृत्वलाई वारम्वार भन्ने गरेको छु, ‘ती कम्जोरीहरु मुहान देखि नै सफा गर्नु पर्यो’ ।”

    तपाईंहरुले केहि दिन अघि पार्टीको केन्द्रिय समितिको बैठक राख्न माग गर्नुभएको थियो । यो जटिल परिस्थितिमा केन्द्रिय समितिको बैठक सम्भव छ ? त्यो बैठकबाट समस्याको समाधान निस्किन्छ त ?
    – पार्टीका समस्याहरुले निकास नपाईसके पछि, स्थायि कमिटिले निकास दिन नसके पछि केन्द्रिय समितिको बैठकको माग गरेका हौं । कमिटि, नेतृत्व भनेको समाधान होः समस्या होईन । समस्याका गाँठाहरु एक पछि अर्को वढ्दै जाने, स्थायी समितिबाट र सचिवालयबाट यी गाँठाहरु नखुल्ने स्थिति पैदा भए पछि त्यो समस्या केन्द्रिय समितिमा ल्याउनुस् भनेर दवाद दिन कै निम्ति केन्द्रिय समितिको बैठकको माग गरेका हौं । हाम्रो मुलभूत उद्देश्य भनेको समस्याको समाधान हो, बैठक होईन । समस्याको समाधान दुई अध्यक्षले दिए पनि पुग्छ । अहिले स्थायि कमिटि, सचिवालय, केन्द्रिय कमिटि बस्नु पर्छ भन्ने हाम्रो मान्यता होईन । जब समाधान नभई सकेपछि यो विषय केन्द्रिय समितिमा आउनुपर्छ । केन्द्रिय समितिबाट समाधान आउन सकेन भने राष्ट्रिय भेला वा महाधिवेशनमा जानु पर्छ तर पार्टी फुटबाट बचाउनु पर्छ । पार्टी फुटाउने प्रवृत्ति हावी हुनु दिनु भएन । पार्टीलाई एकतावद्ध वनाउने प्रवृत्ति नै हावी हुनुपर्छ र वलियो हुनु पर्छ । क्रान्तिकारीहरु हावी हुनुपर्छ गैर क्रान्तिकारीहरु हावी हुनु हुँदैन भन्ने मान्यताले हामीले केन्द्रिय समितिको बैठकको माग गरेका हौं । बैठकको उद्देश्य भनेको समस्याको समाधान हो । समस्याको समाधान स्थायि समिति वा सचिवालयले गर्छ भने हाम्रो अव्जेक्सन छैन । कसैगरि नी समस्याको समाधान हुनुपर्यो ।

    नेकपा सिन्धुलीमा चाहिं विवादको अवस्था कस्तो छ ? पार्टी सँगठनको गतिविधि कस्तो छ ?
    – माथिको प्रभाव तल आउनु स्वभाविक हो तर मुलभूत रुपमा काममा समस्या छैन । टिम गतिशिल छ । टिमवर्क गरेर नै हामीले गतिविधि गरेका छौं । पार्टीका र विकास निर्माणको काममा वुझाईमा एकरुपता कायम गरेरका छौं । जिल्ला कमिटिको वीचमा कुनै त्यस्तो अस्वस्थ खालको अन्तरविरोध चाहिं छैन । विकास निर्माण र सामाजिक कामममा सिङगो जिल्ला कमिटि लागिरहेको छ । गतिशिल ढंगबाट काम गरिरहेको छ । सँगठनात्मक कामको विषयमा कोभिड–१९ ले पारेको नकारात्मक प्रभावले गर्दा व्यवस्थित ढंगले गर्न सकिएको छैन । त्यहि पनि हाम्रो ठाउँबाट गर्नु पर्ने विकास निर्माण र सामाजिक कामहरुमा हामीले कहिँ पनि कमि गरेका छैनौं । पार्टीमा कामै गर्न नसकिने अप्ठ्याराहरु जिल्ला कमिटिमा देखिंदैन ।

    स्थानीय जनप्रतिनीधिहरु र पार्टी वीच विकास निर्माणको काममा समन्वय नभएको जस्तो देखिन्छ नि ?
    – त्यस्तो छैन । जो प्रतिनिधि हुनुहुन्छ उहाँहरु पनि पार्टीको जिम्मेवार व्यक्ति हो । पार्टीको कमिटिमा नै हुनु हुन्छ । पार्टीले दिएका नीति, योजना कार्यक्रम र पार्टीले गरेका निर्देशन अनुरुप नै गएका छन् । सरकारका दैनिक कार्यमा पार्टीले हस्तक्षेप गर्ने कुरा हुँदैन । सरकारका आफ्नै कानुनी व्यवस्था पनि हुन्छन् । तर मुलभूत रुपमा पार्टीको निर्देशन भन्दा वाहिर गएर स्थानिय जनप्रतिनिधिहरुले काम गरेको मलाई अनुभूति भएको छैन । हाम्रा निर्देशनहरुलाई, सुझावहरुलाई अवज्ञा गरेको अस्वीकार गरेको छैन । हाम्रा सुझावहरुलाई नीति योजना कार्यक्रममा र सरकारको बजेटमा समावेश नगराएको भन्ने चैं छैन ।

    नेकपाको कार्यनीति जनताको जनवाद हो । तर केहि नेताहरु जनताको बहुदलिय जनवाद नै हो भनेर हिंडिरहेका छन् नी ?
    – उकालो चढ्न भन्दा ओरालो लाग्न सजिलो हुन्छ । विगत तिर मान्छे छिटो फर्किन्छ । हिजोको सन्दर्भमा तत्कालिन एमालेले अपनाएको जनताको बहुदलिय जनवाद र तत्कालिन माओवादीले अंगिकार गरेको एक्काईसौं शताव्दीको जनवाद । पछाडी फर्किंदा त आ–आफ्नो हिसावले व्यख्या त साथीहरुले गर्नु हुन्छ नै । तर अहिलेको सन्दर्भमा त्यो विगत भई सक्यो । जनताको बहुदलिय जनवाद र एक्काईसौं शताब्दीको जनवाद विगत भयो । जनताको बहुदलिय जनवाद र एक्काईसौं शताब्दीको जनवादका सकारात्मक पक्षहरुलाई जनताको जनवादमा ल्याएर पुजिँकृत गर्छौं । हिजोको जनताको बहुदलिय जनवादमा कमरेड मदन भण्डारीले एउटा सन्दर्भमा प्रतिपादन गर्नुभयो र त्यसले प्रष्ट लेखेको नै छ । संबैधानिक राजतन्त्र, विधिको शासन, मानव अधिकार, लोकतन्त्र लगाएतका मूल्य मान्यतालाई स्थापित गरेर वनाएको एउटा कार्यनीति थियो । र एक्काईसौं शताब्दीको जनवाद सरकार सञ्चालनका ठोस मार्गनिर्देशन सहित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सहितको मुलभूत कार्यनीति सहितका ठोस र मुर्त कार्यनीति हो । जनताको बुहदलीय जनवाद पनि तत्कालिन एमालेको कार्यनीति थियो नै । एक्काईसौं शताब्दीको जनवाद पनि तत्कालिन माओवादीको कार्यनीति थियो । यी दुई ओटालाई नै फ्युजन गरेर अहिलेको सन्दर्भमा जनताको जनवाद भनेर ठोस गरी सकेका छौं । त्यहाँ कुनै विमती छैन । छलफलमा पनि अनेकता छैन । सिंगो पार्टीले एकतावद्ध भएर स्वीकृत गरेको अहिलेको कार्यनीति भनेको जनताको जनवाद नै हो । त्यहि जनताको जनवादको जगमा टेकेर समाजवाद सम्म पुग्ने आधार तयार हुने हो । पछाडी फर्केर बहस गर्नु अनुपयुक्त हुन्छ ।

    “जनताको बुहदलीय जनवाद पनि तत्कालिन एमालेको कार्यनीति थियो नै । एक्काईसौं शताब्दीको जनवाद पनि तत्कालिन माओवादीको कार्यनीति थियो । यी दुई ओटालाई नै फ्युजन गरेर अहिलेको सन्दर्भमा जनताको जनवाद भनेर ठोस गरी सकेका छौं । त्यहाँ कुनै विमती छैन ।”

    तपाईं प्रदेश सभाको सदस्य पनि हुनु हुन्छ । निर्वाचनमा जनतासंग प्रतिवद्धता गरेका चुनावी घोषणा पत्र अनुसार कति काम सम्पन्न गर्नु भयो ?
    – मैले निर्वाचनका वेला घोषणा पत्र निकाले । त्यो तपाईहरुसँग पनि सुरक्षित छ । त्यो प्रतिवद्धता अनुरुप काम भएको छ कि छैन भनेर तपाईंहरुले जनताको वीचमा गएर सोधिदिंदा राम्रो होला । मैले गरेका प्रतिवद्धता मैले पूरा गरेँ भनेर बोल्नु अनुपयुक्त हुन्छ । तर जहाँसम्म लाग्छ मेरो निर्वाचन क्षेत्रमा जनता असन्तुष्ट छैनन् । राजन दाहालले बोलेको थियो तर पूरा गरेन र विकास निर्माणका योजना हालेन भन्ने गुनासो छैन । विकास निर्माणका काम कसरी सम्पन्न गर्ने भन्ने चिन्ता चाहिं छ । तर बजेट परेन भनेर गुनासो गर्ने ठाँउ राखेको छुईन । तपाईंहरुबाट स्वतन्त्र छानविन गरेर काम भएको छ कि छैन भनेर फेयर मुल्याङ्कनको अपक्षा गरेको छु ।

    तपाईलाई आगामी निर्वाचनमा संघीय सांसदको उमेद्वारको रुपमा बजारमा चर्चा हुन थालेको छ । तपाईको तयारी के छ ?
    – म पार्टीको एउटा इमान्दार सिपाहि हुँ । मेरो प्रतिवद्धता के छ भने आजीवन पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु । तर पार्टीसँग मलाई यस्तो चाहियो भनेर माग्दिन । यो मेरो प्रतिवद्धता नै हो । पार्टीले जे जिम्मेवारी दिन्छ त्यो पूरा गर्ने, तर पार्टीसँग मैले कुनै पद वा इच्छा आकाँक्षा माग्नु नपरोस भन्ने मेरो प्रतिवद्धता छ । स्वभावैले इच्छाबाट हुँदैन पार्टी र इतिहाँसले सुम्पिएको ऐतिहाँसिक अवश्यकता पूरा गर्ने संकल्प मसँग छ । तर यहि पाए हुन्थ्यो भन्ने रेडिमेड इन्ट्रेस्ट मसँग छैन । जे जिम्मेवारी पाउँछु, सकेसम्म बल, वर्कत, बुद्धिले भ्याएसम्म समय, सिप, सृजना सबै पार्टी, क्रान्ति, आन्दोलन र जनताको पक्षमा समर्पित गर्ने संकल्प मसँग कायमै छ ।

    अहिले तिब्र गतीमा निर्माण भई रहेको आईसोेलेशन भवनको निर्माण कार्यमा तपाईंले सक्रियता देखाउनु भएको छ । तर बजारमा कसले वढी जसलिने भन्ने भद्दा विरोध र समर्थन भईरहेको छ । यसलाई कसरी लिनु भएको छ ?
    – यो विषय जस र अपजस लिने विषय होईन । जब कोरोना भाइरस समुदाय स्तरमा नै पुगे पछि अलि गम्भिरतापूर्वक सोच्नपर्छ र यो आवश्यकता हो । हामीलाई तुरुन्तै आईसोलेशनको अभाव भए पछि यसको निर्माण थालिएको हो । समुदायमा नै कोरोना पोजेटिभ देखियो, उहाँहरुलाई अहिले अस्थायि रुपमा अस्पतालमा, होटलमा राखेका छौं । हामीलाई यो ऐतिहाँसिक आवश्यकता हो । अहिलेको रोगको सामना गर्नको निम्ति व्यवस्थित ढंगले क्वारेनटाईन, आईसोलेसन र पिसिआर ल्याव प्रयोगशाला यी तीनओटा कुरा अनिवार्य आवश्यकता महसुस गरौं । हामीले पहल गर्यौँ । नियमित विपद व्यवस्थापन समितिको बैठक राख्न मैले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएँ । अस्पताल विकास तथा व्यवस्थापन समितिलाई बैठक राख्न भन्यौं र सबै सर्वदलिय बैठक र सर्वपक्षिय वैठक आयोजना गर्यौँ । भलै पहलकर्ताको हिसावले सुरुवातको इनिसेसन मबाट भयो होला तर म यो जिल्लाको पार्टी अध्यक्ष भएको नाताले व्यक्तिगत जस जाने कुरा हुँदैन । नेपाल कम्युनिष्ट पार्टीले एउटा पहलकदमी लियो र त्यो पहलकदमीमा सिंगो सिन्धुलीवासी सबै राजनीतिक दलहरु र सबै संघसंस्थाहरु एकतावद्ध भएर लागे पछि सुरु गरेका हौं । यो कुनै व्यक्तिगत जस अपजसका कुरा पनि होईनन् । यो समग्र सिन्धुलीको ऐतिहाँसिक आवश्यकता हो । आवश्यकताले निर्धारण गरेको योजना हो । यो सम्पन्न गर्नुपर्छ र यसमा सबैको सकरात्म सोंच छ । सबैको सकारात्मक भूमिका छ, पहल कदमी छ । सबैको सामूहिक प्रयत्नबाट यो योजना सम्पन्न हुन्छ । त्यस कारण अहिले सम्म जो जसले सहयोग गर्नु भएको छ । उहाँहरुलाई म हार्दिक आभार व्यक्त गर्दछु । जनता न्याधिश हो, जनताले मुल्याङ्कन गर्छ । इमान्दारीता, महान्ता जनतासँग हुन्छ । सत्यको जगमा उभिएर छलफल, बहस गर्दै सामाजिक सञ्जालमा आफ्ना तर्कहरु पेश गर्न पनि सम्बन्धित पक्षलाई हार्दिक अपिल गर्दछु । यसमा मेरो कुनै टिप्पणी छैन ।