सुनकोशी नदीमा टाटा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन जना बेपत्ता

सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन जना महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

आज आइतबार राति करिब २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी रत्नावती र खाङसाङबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा तीन जना महिलाको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा पठाइएको छ ।

उपचाररत घाइतेमध्ये ओखलढुंगा निवासी करिब २९ वर्षीय चालक आशिष बिष्ट बेहोस अवस्थामा छन् । खोटाङको दिक्तेल नगरपालिका-३ निवासी ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको छ । उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका-१ निवासी १३ वर्षीय अंकित विकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरू बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।

चालकको भनाइअनुसार दुर्घटनामा परेका अन्य तीन जना बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा थप प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा पर्दछ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *