रक्तमाला मन्दिरमा हर्षबढाइँका साथ भित्र्याइयो फूलपाती
सिन्धुली/बडादसैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा हर्षबढाइँका साथ फूलपाती भित्र्याइएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा आज बिहान शुभसाइत अनुसार फूलपाती भित्र्याइएको हो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले साङ्बालेको कोइला देवी मन्दिरबाट फूलपातीको डोली ल्याई रक्तमाला मन्दिरमा सलामीसहित भित्र्याएका थिए ।

रक्तमाला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं कमलामाई नगरपालिका ४ का वडाअध्यक्ष महेन्द्र ढकालको अनुसार फूलपाती भित्र्याएपछि नवदुर्गाका नौवटै देवीको विधिपूर्वक पूजा-आराधना गरिएको थियो । कार्यक्रममा तीनवटै सुरक्षा निकायले संयुक्त गारत समेत प्रस्तुत गरेका थिए । बडादसैँका अवसरमा आयोजना गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम भएको अध्यक्ष ढकालले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री थापा मगरले सिन्धुली जिल्लाको विकास क्रमशः अगाडि बढिरहेको बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले प्रदेशभरका मठमन्दिरको संरक्षणमा सहयोग गर्ने उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो । मठमन्दिरको संरक्षण र प्रवद्र्धन गर्न सके धार्मिक पर्यटनको विकासमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सिन्धुली कलाघर, वारियर डान्स सेन्टर लगायतले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
कार्यक्रममा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य आशीष गजुरेल, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, नगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितिका उपप्रमुख, विभिन्न राजनीतिक दलका नेताहरु,सरकारी र गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरू लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।




