पसिना पोखिएको बगरमा फस्टाएको तरबुजा खेती

सिन्धुली/केही वर्षअघिसम्म बर्खामा खोला बग्ने र हिउँदमा खाली रहने बगरमा अहिले हरियाली लहराएको छ । यहाँ कुनै समय घाँस समेत उम्रिन कठिन थियो । तर अहिले यही बगरलाई हरिहरपुरगढीका किसानले उत्पादनको श्रोत बनाउँदै नयाँ सम्भावनाको ढोका खोलेका छन् ।

पालिकाले सन्चालन गरेको बगर खेती कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानहरुले तरबुजा खेती सन्चालन गरेपछि सुख्खा बगरमा हरियाली लहराउन सम्भव भएको हो । यसमा किसानहरुले ५० प्रतिशत लगानी गरेका छन् । किसानको पसिना पोखिएको त्यही बगरमा सिजनको बेला रसिलो तरबुजाले बगर ढाकिरहेको हुन्छ ।

हरिहरपुरगढी गाउँपालिका–२ जखौलीका ८ जना किसान मिलेर गठन गरेको जागरण कृषक समूहले गत वर्ष ४ बिघा बगरमा तरबुजा खेती गरेको थियो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा समूहलाई पाइप, स्प्रे ट्याङ्की, बीउ, विषादी उपलब्ध गराउनुका साथै आवश्यक प्राविधिक सहयोग पनि गरेको समूहका किसान धिरेन्द्र राईले बताए ।

पहिलो वर्ष नै अनुकूल मौसमका कारण ४ बिघाबाट करिब ३६ हजार किलो तरबुजा उत्पादन भएको थियो । प्रतिकिलो २५ देखि ३० रुपैयाँका दरले बिक्री हुँदा करिब ९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको किसानहरूको भनाइ छ । “पहिलो प्रयासमै राम्रो उत्पादन र आम्दानी भएपछि बगरमा पनि तरबुजाको व्यावसायिक खेती गर्न सकिने रहेछ भन्ने विश्वास बढ्यो । त्यसैले यस वर्ष हामीले आफ्नै लगानीमा खेतीलाई निरन्तरता दिएका हौँ” किसान धिरेन्द्र राईले भने ।

तर मौसमले भने यस वर्ष किसानहरुलाई साथ दिएन । समूहका किसान शुकदेव राईका अनुसार यस वर्ष असिना, वर्षा र हावाहुरीका कारण उत्पादनमा ठूलो क्षति पुग्यो । जसका कारण अपेक्षित मुनाफा भएन ।

नदी किनारको बलौटे माटो, पर्याप्त घाम र सहज सिँचाइका कारण बगरको जमिन तरबुजा खेतीका लागि निकै उपयुक्त हुने हरिहरपुरगढी गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले बताए । आफूले प्राप्त गरेको अनुभवका आधारमा किसानहरूले यस वर्ष पालिकाको अनुदानबिना नै करिब ३ बिघा क्षेत्रफलमा तरबुजा खेती गरेका थिए । यस वर्ष बीउ, मल तथा अन्य कृषि सामग्रीमा करिब ७० हजार रुपैयाँ बराबरको लगानी गरिएको थियो । तर मौसमले भने यस वर्ष किसानहरुलाई साथ दिएन । समूहका किसान शुकदेव राईका अनुसार यस वर्ष असिना, वर्षा र हावाहुरीका कारण उत्पादनमा ठूलो क्षति पुग्यो । जसका कारण अपेक्षित मुनाफा भएन ।

“यस वर्ष मौसमले साथ दिएन । असिना, पानी र हावाहुरीले गर्दा उत्पादन निकै घट्यो । करिब ३ बिघाबाट जम्मा १ हजार ५ सय किलो मात्र तरबुजा उत्पादन भयो । त्यसबाट करिब १ लाख ५० हजार रुपैयाँको मात्र कारोबार गर्न सक्यौं” किसान शुकदेव राईले भने।

राइका अनुसार पछिल्लो समयमा केही तरबुजा कुहिने समस्या पनि देखिन थालेकाले माटो परीक्षण गरिदिन गाउँपालिकासँग समूहले आग्रह गरेको छ । यस क्षेत्रमा मेघा र सरस्वती जातका तरबुजा खेती गरिएको थियो । बीउ भने गत वर्ष र यस वर्ष गाउँपालिकाले नै उपलब्ध गराएको किसानहरूले बताएका छन् । उत्पादनमा कमी आए पनि बजारको अभाव भने कहिले नभएको तरबुजा खेती गर्ने किसानहरूको अनुभव छ । हरिहरपुरगढीमा उत्पादन भएको तरबुजा सिन्धुलीमाढी सँगै हेटौँडा, काठमाडौं लगायत विभिन्न सहरमा बिक्री हुने गरेको छ । किसानहरूका अनुसार तरबुजाको प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म मूल्य पाइने गरेको छ।

कमलामाई नगरपालिका–४ का ढुङग्रेबासका राजु रम्तेलको अनुसार हरिहरपुरगढीको तरबुजा स्वाद र गुणस्तरका कारण बजारमा लोकप्रिय बन्दै गएको छ । “तराईको भन्दा पनि धेरै ग्राहकले जिल्लाकै तरबुजा खोज्नुहुन्छ । स्वाद मिठो र गुणस्तर राम्रो भएकाले हरिहरपुरगढीको तरबुजा सजिलै बिक्री हुन्छ, रम्तेलले भने । रम्तेल विगत केही वर्षदेखि तरकारी तथा फलफूल व्यवसाय गरिरहेका छन् ।

नेतृत्वका कुरा –
तरबुजा खेतीसँगै स्थानीयस्तरमै रोजगारी समेत सिर्जना भएको छ भने पालिकाका अन्य किसानहरू पनि यसतर्फ बिस्तारै आकर्षित हुन थालेका छन् । जागरण कृषक समूहले आगामी वर्ष अझ बढी क्षेत्रफलमा तरबुजा खेती गर्ने योजना बनाएको छ । गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाको अनुसार यस वर्षदेखि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम पनि सुरु गरिएको छ । “किसान तथा कृषक समूहलाई उत्पादन बढाउन प्रोत्साहनस्वरूप उत्पादित कृषि उपजमा प्रतिकिलो पाँच रुपैयाँको दरले अनुदान दिने व्यवस्था गरेका छौँ,“ देवकोटाले भने । कृषि अधिकृत देवकोटाका अनुसार पालिकाले बगर खेती कार्यक्रमलाई निरन्तरता दिँदै तरबुजा खेतीका लागि उपयुक्त नयाँ क्षेत्र पहिचान गर्ने र उत्पादन क्षेत्र विस्तार गर्ने योजना बनाएको छ ।

“पालिकाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट हालसम्म पालिकाको विभिन्न वडाका गरी करिब २० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । यस आर्थिक वर्षमा थप किसानलाई यस कार्यक्रममा समावेश गर्ने लक्ष्य रहेको छ” देवकोटाले भने । किसानमैत्री योजनाहरु सन्चालन गरेर कृषिको जगमा टेक्दै पालिकालाई समृद्धिको बाटोमा अघि बढाउने लक्ष्य हाँसिल गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाको भनाई छ।

किसानको भरोसाःहरिहरपुरगढी गाउँपालिका’ भन्ने भनाइलाई व्यवहारमा उतार्दै गाउँपालिकाले किसानको विश्वास जित्ने मात्र नभएर कृषि विकासको प्रेरणादायी नमुना समेत प्रस्तुत गरेको छ ।

विशेषगरि स्थानीय किसानहरुलाई स्थानीय सरकार भएको महसुस गराउन उनिहरु लक्षित कार्यक्रम सन्चालन गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरि न्यौपानले भने “पालिकाको सहयोगले तरबुजा खेतीप्रति किसानको विश्वास बढेको छ । यसले आम्दानीसँगै कृषि पेशाप्रति पनि उत्साह थपिँदैगएको छ ।”

बाँझो बगरलाई हराभरा उत्पादनभूमिमा रूपान्तरण गर्दै हरिहरपुरगढी गाउँपालिकाले कृषिमा आशाको नयाँ अध्याय सुरु गरेको छ । किसानको मेहनत, स्थानीय सरकारको ५० प्रतिशत अनुदान तथा योजनाबद्ध सहयोग र समन्वयले बगर पनि आम्दानीको भरपर्दो स्रोत बन्न सक्छ भन्ने उदाहरण स्थापित गरेको छ । ‘किसानको भरोसाःहरिहरपुरगढी गाउँपालिका’ भन्ने भनाइलाई व्यवहारमा उतार्दै गाउँपालिकाले किसानको विश्वास जित्ने मात्र नभएर कृषि विकासको प्रेरणादायी नमुना समेत प्रस्तुत गरेको छ ।
 (हरिहरपुरगढी गाउँपालिकाको सहयोगमा तयार गरिएको)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *