कुशेश्वर माध्यमिक विद्यालयको करिब १२ बिघा क्षेत्रफलमा लिच्ची खेतीको सुरुवात

सिन्धुली/सिन्धुलीको मरिण मरिण गाउँपालिका ३ मा रहेको कुशेश्वर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको करिब १२ बिघा क्षेत्रफलमा लिच्ची खेतीको सुरुवात गरिएको छ ।

विद्यालयको खाली रहेको जग्गाको सदुपयोग गर्दै भविष्यमा विद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ लिच्ची खेतीको सुरुवात गरिएको हो ।

यस अभियानले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै दीर्घकालीन आर्थिक स्रोत सिर्जना गर्ने विश्वास समेत गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

बिरुवा रोपीसके पश्चात गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले विद्यालयले परम्परागत शिक्षासँगै उत्पादनमुखी र आयआर्जनमुखी गतिविधिमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमले विद्यालयलाई दिगो निकासतर्फ उन्मुख गराउने बताउनुभयो । त्यस्तै उहाँले कृषि र शिक्षालाई एकीकृत गर्दै विद्यालयको आफ्नै आम्दानीको स्रोत विकास गर्न गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यसैगरी सहभागीहरूले लिच्चीका बिरुवाको उचित संरक्षण, स्याहारसम्भार तथा व्यवस्थापनमा सबै पक्षको साझा जिम्मेवारी रहने धारणा राखेका थिए । बिरुवाहरू हुर्किए पछि आगामी वर्षहरूमा उत्पादन हुने लिच्ची बिक्रीबाट प्राप्त आम्दानी विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासमा उपयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मरिण ३ का वडा अध्यक्ष जितबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *