मथौलीमा निःशुल्क आँखा शिविरबाट ५९ जना लाभान्वित
सिन्धुली/ग्रामीण क्षेत्रमा आँखा सम्बन्धी समस्याको पहिचान तथा उपचार सेवामा पहुँच पु¥याउने उद्देश्यले सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीमा निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु छनोट शिविर गरीएको छ ।
आज सनिबार सञ्चालन गरिएको शिविरमा ५९ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा आवश्यक देखिएका १२ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने ३ जना मोतिबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको आयोजनामा भएको शिविर तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, Nge Alik Tee and Zhang Wen’s Family, Singapore तथा Good Vision Nepal को सहयोगमा सञ्चालन गरिएको हो। शिविरको संयोजन तथा व्यवस्थापन मरिण गाउँपालिका, वडा नं. ७ र नेपाल रेडक्रस सोसाइटी महादेव स्थान उपशाखाले गरेका थिए।
आँखाको नियमित परीक्षण, समयमै रोगको पहिचान र उचित उपचारले दृष्टि सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता शिविरले ग्रामीण समुदायका नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ । विशेषगरी मोतिबिन्दुको समस्या भएका बिरामीलाई पहिचान गरी शल्यक्रियाका लागि छनोट गरिनुले उनीहरूको उपचार प्रक्रियालाई अगाडि बढाउन सहयोग पुग्नेछ ।


