मरिणमा निःशुल्क आँखा शिविरः ९८ जनाको आँखा परीक्षण, १८ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिने
सिन्धुली/आँखाको ज्योति जोगाउने उद्देश्यसहित सिन्धुलीको मरिण गाउँपालिका ४ साहानमा निःशुल्क मोतिबिन्दु छनोट शिविर गरीएको छ ।
शिविरमा ९८ जनाको आँखा परीक्षण गरेका छन् भने १८ जना मोतिबिन्दुका बिरामी शल्यक्रियाका लागि छनोट भएका छन् ।
शिविरमा आँखा सम्बन्धी समस्या भएका अन्य बिरामीलाई आवश्यकता अनुसार निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको छ । आर्थिक अभाव तथा स्वास्थ्य सेवाको सीमित पहुँचका कारण आँखाको उपचारबाट वञ्चित हुन सक्ने स्थानीय नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको आयोजनामा, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कल्पवृक्ष उपशाखा र मरिण गाउँपालिका वडा नं. ४ को संयोजन तथा व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा मोतिबिन्दु पहिचान भएका १८ जना बिरामीको आगामी कार्तिक १३ र १४ गते नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ । यसबाट मोतिबिन्दुका कारण दृष्टिसम्बन्धी समस्या भोगिरहेका बिरामीले उपचार सेवा पाउने अपेक्षा गरिएको छ ।
शिविर सफल बनाउन स्थानीय स्तरमा सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाइटी कल्पवृक्ष उपशाखा तथा मरिण गाउँपालिका वडा नं. ४ प्रति आयोजकले आभार व्यक्त गरेको छ । त्यसैगरी, सहयोग उपलब्ध गराउने तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, Nge Alik and Tee and Zhang Wen’s Family, Singapore, Good Vision Nepal तथा जानकी आँखा अस्पताल, जनकपुरप्रति धन्यवाद व्यक्त गरिएको छ।
ग्रामीण क्षेत्रका नागरिकलाई आँखासम्बन्धी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने यस्ता कार्यक्रमले रोगको समयमै पहिचान, उपचारमा पहुँच र दृष्टि संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।



