भारी वर्षाको जोखिमः बीपी राजमार्गमा राति सवारी निषेध
सिन्धुली/धेरै भारी वर्षाको सम्भावनासँगै बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिम बढेपछि सिन्धुलीस्थित बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा बसेको बैठकले असोज ८ गतेदेखि ११ गतेसम्म प्रत्येक दिन बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।
नेपाल मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशभर ठूलो वर्षा हुने सम्भावना औँल्याएको छ । सिन्धुलीमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले सम्भावित विपद् र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रातिको आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
विशेषगरी रातिको समयमा सडकको अवस्था पहिचान गर्न कठिन हुने तथा वर्षाका कारण बाढी, पहिरो र सडक अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।
प्रशासनको अनुसार वर्षा, बाढी र सडकको अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक परे दिनको समयमा समेत सवारी सञ्चालनमा रोक लगाउन सकिनेछ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जोखिमपूर्ण मौसममा बीपी राजमार्ग हुँदै रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै यात्रु तथा यातायात व्यवसायीलाई सम्बन्धित निकायले जारी गरेका सवारी व्यवस्थापनसम्बन्धी निर्णय अनिवार्य रूपमा पालना गर्न अनुरोध समेत गरेको छ ।


