रसुवा बाढीको पीडा बोकेर फर्किए रेडक्रस प्रमुख

सिन्धुली/त्रिशूली नदीको वारिपारि छुट्टिएका परिवार, बेखबर आफन्त र खोजीमा भौँतारिरहेका आँखाहरू-रसुवा बाढीपछि त्यहाँ देखिएको मानवीय पीडा सहजै शब्दमा बयान गर्न नसकिने थियो ।

यही पीडाबीच प्रभावितको उद्धार, राहत र शव व्यवस्थापनमा १४ दिन खटिएर नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका कार्यालय प्रमुख भदौ २९ गते सिन्धुली फर्किनु भयो ।

महाविनाशकारी बाढीपछि प्रभावित परिवारको पुनःस्थापना तथा मानवीय सेवाका लागि रसुवा पुग्नुभएका उहाँले बाढीले पु¥याएको क्षति अत्यन्तै पीडादायी रहेको बताउनुभयो ।

उहाँका अनुसार रसुवाको ठूलो हाकु गाउँमा मात्रै एकै गाउँका ५२ जना बेपत्ता भएका छन् । त्यस्तै, ब्लक भिलेज भनिने गत्लाङ क्षेत्रमा २९ जना पर्यटक बेपत्ता भएको जानकारी संकलन गरिएको उहाँले बताउनुभयो । गोसाइँकुण्ड गाउँपालिकाको एक वडामा मात्रै २५२ जनासम्म बेपत्ता भएको विवरणसमेत आफूहरूले संकलन गरेको उहाँले जानकारी दिनुभयो ।

“विशेषगरी १८ देखि ६० वर्ष उमेर समूहका कामदार ठूलो संख्यामा प्रभावित भएका छन् । कतिपय परिवारले एकै पुस्तासम्म गुमाउनुपरेको अवस्था देखियो,” उहाँले भन्नुभयो ।

बाढीपछि त्रिशूली नदी वारिपारिका आफन्तबीच भेटघाट हुन नसकेको र कैयौँ मानिस अझै बेखबर रहेको दृश्य आफूले प्रत्यक्ष देखेको उहाँले बताउनुभयो । आफन्तको खोजीमा रहेका परिवारको पीडा र अनिश्चितताले घटनाको भयावहता झनै स्पष्ट पारेको उहाँको अनुभव छ ।
प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सरकारले तीव्र रूपमा काम गरिरहेको उहाँले बताउनुभयो ।

रसुवा बाढीले नदी तथा खोलाको छेउछाउमा रहेका जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापनबारे समेत गम्भीर प्रश्न उठाएको उहाँको भनाइ छ । जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

हिमाली क्षेत्रमा भू–बनोटमा आएको परिवर्तन, हिउँ पग्लिने प्रक्रिया तथा कमजोर चट्टानी संरचनाका कारण आगामी दिनमा पनि यस्ता विपद्को जोखिम रहन सक्ने उहाँको बुझाइ छ । त्यसैले विपद् आउनुअघि नै पूर्वतयारी, जोखिम पहिचान र न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्ने उहाँले जोड दिनुभयो ।

विपद्को समयमा नेपाल रेडक्रस सोसाइटीको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । रेडक्रसले हेलिकप्टर मार्फत राहत सामग्री पु¥याउने, शव व्यवस्थापनका लागि शव ब्याग उपलब्ध गराउने, विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने र प्रभावित परिवारसम्म प्रत्यक्ष पुगेर मानवीय सेवा प्रदान गर्ने काम गरेको उहाँले जानकारी दिनुभयो ।

कठिन भौगोलिक परिस्थितिका बीच प्रभावित परिवार र सरोकारवालासँग नजिक रहेर काम गर्दा मानवसेवाको महत्व अझ गहिरो रूपमा अनुभूति भएको उहाँले बताउनुभयो ।

“विपद्को समयमा मानवता, सहकार्य र पूर्वतयारी नै सबैभन्दा महत्वपूर्ण रहेछ । प्रभावित परिवारसम्म पुगेर सेवा गर्न पाउँदा मानवीय सेवाप्रतिको जिम्मेवारी अझ बढेको महसुस भएको छ,” उहाँले भन्नुभयो ।

आगामी दिनमा विपद् व्यवस्थापन तथा मानवीय सेवामा रेडक्रसको भूमिका अझ महत्वपूर्ण हुने बताउँदै उहाँले रेडक्रसको अभियानमा सबैको सद्भाव, सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *