स्वास्थ्य सेवामा गोलन्जोर पहिलो

सिन्धुली/स्वास्थ्य सेवाका सूचक तथा कार्यक्रम कार्यसम्पादन मूल्यांकनमा गोलन्जोर गाउँपालिका सिन्धुली जिल्लामै प्रथम भएको छ ।

स्वास्थ्य क्षेत्रमा स्थानीय तहले गरेको कामको मूल्यांकनमा उत्कृष्ट प्रदर्शन गर्दै गोलन्जोरले जिल्लामा पहिलो स्थान हासिल गरेको हो ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा सम्पन्न दुई दिने जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा स्वास्थ्य सेवाका विभिन्न सूचक, कार्यक्रम कार्यान्वयन तथा कार्यसम्पादनका आधारमा स्थानीय तहहरूको मूल्यांकन गरिएको थियो ।

मूल्यांकनमा कमलामाई नगरपालिका दोस्रो र फिक्कल गाउँपालिका तेस्रो भएका छन् । उत्कृष्ट स्थान हासिल गर्ने स्थानीय तहका स्वास्थ्य शाखालाई गोष्ठीमा प्रशंसापत्रसहित सम्मान समेत गरिएको आयोजकले जनाएको छ ।

गोलन्जोर गाउँपालिकाको यो उपलब्धिलाई स्वास्थ्य सेवामा निरन्तर गरिएको मेहनत र प्रभावकारी कार्यसम्पादनको परिणामका रूपमा लिइएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सबैको सामूहिक प्रयासले यो सफलता सम्भव भएको गाउँपालिकाले जनाएको छ ।

प्रथम स्थान हासिल गरेपछि गोलन्जोर गाउँपालिकाले स्वास्थ्य सेवामा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाले उपलब्धिका लागि स्वास्थ्य क्षेत्रमा खटिने सम्पूर्ण जनशक्ति तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप उपलब्धि हासिल गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *