तीनपाटन गाउँपालिकामा रास्वपाद्वारा ध्यानाकर्षण-पत्र पेस
सिन्धुली/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीनपाटन गाउँपालिका समितिले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा देखिएका समस्या समाधान गर्न माग गर्दै तीनपाटन गाउँपालिकाका अध्यक्ष समक्ष ध्यानाकर्षण-पत्र बुझाएको छ ।
रास्वपाले सोमबार गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगरको कार्यकक्षमा पुगेर ध्यानाकर्षण-पत्र बुझाएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा मगर, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार शाह, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।
गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य चौकीको अनुगमनका क्रममा स्वास्थ्य सेवामा गम्भीर लापरवाही, गुणस्तरहीन तथा बिग्रिएका औषधिको वितरण र स्वास्थ्यकर्मीमाथि श्रम शोषण भएको दाबी गर्दै रास्वपाले तत्काल आवश्यक कदम चाल्न माग गरेको छ ।
ध्यानाकर्षण-पत्रमार्फत रास्वपाले मुख्य रूपमा तीनवटा माग अघि सारेको छ। गुणस्तरहीन तथा बिग्रिएका औषधि खरिद र भण्डारण प्रक्रियामा भएको भनिएको लापरवाहीबारे प्राविधिक टोलीसहित निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न, स्वास्थ्यकर्मीका जायज मागलाई राजनीतिक पूर्वाग्रह नराखी संवादमार्फत सम्बोधन गर्न तथा स्वास्थ्य संस्थामा औषधि आपूर्ति र भण्डारण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन माग गरिएको छ ।
ध्यानाकर्षण-पत्र बुझ्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगरले जनताको साझा समस्याप्रति चासो राखिएकोमा धन्यवाद दिँदै तत्काल गाउँकार्यपालिकाको बैठक बसेर विषयको सत्यतथ्य छानबिन गरिने बताउनुभयो । अनुसन्धानका क्रममा दोषी देखिए जोसुकैलाई पनि कानुनी दायरामा ल्याई कारबाही गरिने उहाँको भनाइ छ ।
यसैबीच, रास्वपाले गाउँपालिकाका स्वास्थ्य प्रमुख रामवेचन शाहलाई समेत ध्यानाकर्षण-पत्र बुझाएको छ । सो क्रममा बिग्रिएका औषधिबारे गरिएको प्रश्नमा स्वास्थ्य प्रमुख शाहले त्यस्ता सडेगलेका औषधि स्टोरमा नरहेको बताउनुभयो । उहाँले सम्बन्धित स्वास्थ्य संस्थामा औषधि राख्ने क्रममा थप जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्युत् आपूर्तिमा समय-समयमा देखिने समस्या लगायत विभिन्न कारणले औषधि भण्डारण व्यवस्थापनमा चुनौती रहेको भन्दै स्वास्थ्य प्रमुख शाहले भण्डारण प्रणालीमा थप सुधार आवश्यक रहेको बताउनुभयो ।


