नयाँ योजनासहित अघि बढ्दै मरिण

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन तथा सम्पादन भएका विभिन्न कार्यक्रम र गतिविधिहरूको वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।

पालिकामा भदौ १९ र २० गते दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिमर्स मुक्तान, उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेल लगायत गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, स्वास्थ्य सेवा प्रवाह, प्राप्त उपलब्धि, देखिएका चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरूकोबारे समेत विस्तृत समीक्षा गरिएको थियो । सहभागीहरूले स्वास्थ्य सेवाको वर्तमान अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल गरेका थिए ।

त्यसैगरी, गाउँपालिकाका नागरिकलाई थप प्रभावकारी, गुणस्तरीय, पहुँचयोग्य तथा नागरिकमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आगामी आर्थिक वर्षका लागि आवश्यक योजना, प्राथमिकता र कार्यक्रमबारे छलफल गरी स्वास्थ्य क्षेत्रको योजना तर्जुमा गरिएको छ ।

कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न स्वास्थ्य सूचकमा हासिल गरेको प्रगति, सेवा प्रवाह तथा कार्यसम्पादनका आधारमा स्वास्थ्य संस्थाहरूको मूल्यांकनसमेत गरिएको थियो। मूल्यांकनमा मरिण आधारभूत अस्पताल प्रथम, आधारभूत स्वास्थ्य केन्द्र जयमंगल द्वितीय तथा कल्पबृक्ष स्वास्थ्य चौकी र बरुण स्वास्थ्य इकाई तृतीय भएका छन् भने उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थाहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

स्वास्थ्य क्षेत्रको समग्र सुधार, गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता तथा गाउँपालिकाका प्रत्येक नागरिकको स्वास्थ्य अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *