‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै पानीमा रुझ्दै विद्यार्थीको प्रदर्शन
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित ग्वाङखोलामा १० वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको भनिएको घटनाको विरोधमा कमला माध्यमिक विद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका छन् ।
सोमबार पानी परिरहेको अवस्थामा समेत विद्यार्थीहरूले र्याली निकाल्दै बालिकामाथि भएको भनिएको घटनाको विरोध गरेका हुन् । पानीमा रुझ्दै सडकमा निस्किएका विद्यार्थीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै विभिन्न नारासहित प्रदर्शन गरेका थिए ।

र्यालीमा सहभागी विद्यार्थीहरूले ‘बलात्कारीलाई फाँसी देऊ’, ‘बालिकामाथिको हिंसा बन्द गर’, ‘कानुन संशोधन गर’ लगायतका नारा लगाएका थिए ।
विद्यार्थीहरूले बालबालिकामाथि हुने यौन हिंसाका घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । यस्ता घटनाका पीडितले न्याय पाउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ ।
र्यालीका क्रममा विद्यार्थीहरूले बलात्कार सम्बन्धी कानुन थप कडा बनाउनुपर्ने तथा आवश्यक कानुनी संशोधन गर्नुपर्ने माग समेत अघि सारेका छन् । उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड समेत दिएका छन् ।

बालिकामाथि भएको भनिएको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।


