रसुवाको बाढी प्रभावित क्षेत्रबाट सिन्धुलीका चार जनाको सकुशल उद्धार, गृह जिल्लामा स्वागत
सिन्धुली /रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा फसेर सम्पर्कविहीन भएका सिन्धुलीका चार युवाको सकुशल उद्धार गरी गृह जिल्ला ल्याइएको छ ।
रोजगारीका सिलसिलामा रसुवागढी हाइड्रोपावरमा कार्यरत कमलामाई नगरपालिका ११ का भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको उद्धार गरी आइतबार सिन्धुली ल्याइएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।
कमलामाई नगरपालिकाको अनुसार उनीहरूको खोजी तथा उद्धारका लागि नगरपालिकाले सवारीसाधन उपलब्ध गराएको थियो । त्रिशूली आर्मी ब्यारेकको सहयोग तथा कमलामाई नगरपालिका ११ का वडा सदस्य अजय दोङ तामाङको विशेष समन्वयमा परिवारका सदस्यहरूले समेत खोजी कार्य अघि बढाएका थिए ।

काठमाडौँ हुँदै सुरक्षित रूपमा सिन्धुली ल्याइएका चारै जनालाई गृह जिल्लामा आइपुगेपछि कमलामाई नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, सम्बन्धित वडाध्यक्ष, प्रहरी प्रतिनिधि तथा अन्य महानुभावहरूले उनिहरुलाई स्वागत गरेका छन् । उनीहरूलाई खादा ओढाएर सम्मान समेत गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
उद्धार भएर फर्किएका प्रत्येक व्यक्तिलाई कमलामाई नगरपालिकाले १० हजार रुपैयाँ राहत समेत उपलब्ध गराउने भएको छ ।
बाढी र विपद्को भयावह अवस्थाबाट फर्किएका चारै जनामा सामान्य स्वास्थ्य समस्या देखिएपछि उनीहरूको सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको छ ।
यसैबीच, रसुवा तथा त्रिशूली क्षेत्रमा अझै सम्पर्कविहीन रहेका कमलामाई नगरपालिकाका अन्य नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन नगरपालिका सक्रिय रहेको छ । सम्बन्धित निकायसँग समन्वय गरी विपद्मा परेका नागरिकहरूको खोजी, उद्धार तथा सुरक्षित घरफिर्तीका लागि निरन्तर पहल भइरहेको छ ।



