घ्याङलेखमा मध्यराति घर फोडियो, २१ लाखको धनमाल लिएर चोर फरार
सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिका ५ रामपुर बजारका व्यवसायी देवराज सिजालीको घरमा मध्यरातमा चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपेर चोरले नगद तथा सुनका गहनासहित करिब २१ लाख बराबरको धनमाल चोरी गरेर फरार भएका छन् ।
सिङ्पालस्थित सिजालीको घरमा गएराति करिब १२ बजे चोरहरू प्रवेश गरेको बताइएको छ । चोरहरूले घरको कोठाको ढोका तोडेर भित्र पसेका थिए ।
सिजाली रामपुर बजारमा रहेको र परिवारका अन्य सदस्यहरू माइती गएको कारण घटनाका बेला घर खाली रहेको थियो । यही मौकाको फाइदा उठाउँदै चोरहरूले घरमा राखिएको व्यापारबाट संकलित करिब रु. ६ लाख नगद तथा ६ तोला बराबरका सुनका गहनाहरु चोरी गरेको पीडित पक्षले बताएका छन् ।
चोरी भएका सुनका गहनामा सिक्री, गलहरी, रिङ, लकेट र मुन्द्रालगायत रहेका छन् । नगद र सुनका गहना गरी कुल करिब रु. २१ लाख बराबरको सम्पत्ति चोरी भएको बताइएको छ ।
घटनापछि पीडित परिवारले आफन्त, इष्टमित्र तथा स्थानीय नागरिकसँग सहयोगका लागि अपिल गरेको छ । शंकास्पद गतिविधि देखिएमा वा घटनासँग सम्बन्धित कुनै सूचना प्राप्त भएमा तत्काल नजिकैको प्रहरी चौकीमा जानकारी गराउन आग्रह गरिएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै घटनास्थलबाट प्राप्त हुन सक्ने प्रमाणका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


