सिन्धुलीमा हाइस दुर्घटना, चार जना घाइते
सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
आज दिउँसो करिब १ः४५ बजेको समयमा मोरङबाट काठमाडौं जाँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भएर अनियन्त्रित भई सडकको नालामा खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रष्ठको अनुसार हाइसमा चालकसहित १४ जना सवार थिए । दुर्घटनामा चार जना घाइते भएका छन् ।
घाइतेमध्ये धनुषाको गणेशमान नगरपालिका ७ बस्ने २२ वर्षीया रुवी साहको टाउको र अनुहारमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको श्रष्ठले जानकारी दिनुभयो ।त्यस्तै मोरङको सुन्दर हरैँचा नगरपालिका १२ बस्ने १९ वर्षीय समित भुजेलको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको पनी अवस्था पनि गम्भीर रहेको छ ।
त्यसैगरी सोही स्थानका २० वर्षीय उज्वल चौधरीको दुवै खुट्टामा चोट लागेको छ भने सुनसरीको इटहरी उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय दुर्गानन्द शर्माको दुवै हातमा चोट लागेको छ । चौधरी र शर्माको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको र उपचार भइरहेको छ । हाइस घटनास्थलमै रहेको छ भने चालक मोरङको बेलबारी नगरपालिका ३ बस्ने २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरी चौकी गढीको नियन्त्रणमा राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


