प्रधानमन्त्रीको सम्बोधन–घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुन्छ
सिन्धुली/प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले देशमा भएका पछिल्ला दुःखद घटनाहरु र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार गम्भिर रहेको तथा समस्या समाधानका लागि सरकारले उचित कदम चालिसकेको बताउनुभयो । केही दिनअघि सुनसरीको देवानगञ्ज, धनुषा, सिरहा लगायतका स्थानमा भएका दुःखद घटनाहरुप्रति नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको वहाँको भनाई छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भन्नुभयो “घटनामा परि घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको उपचारका लागि कुनै प्रकारको कमी वा ढिलासुस्ती हुन नदिन स्वास्थ्य निकायहरुलाई सरकारले प्रष्ट निर्देशन दिइसकेको छ ।”
थप अप्रिय घटना हुन नदिनको लागि र शान्ति सुरक्षा कार्यम गर्नको लागि निरन्तर प्रयास भैरहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो “घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । साथै यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ ।”
साथै वहाँले घटनामा संलग्न दोषी जो–कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना पनि प्रकट गर्दै प्रधानमन्त्री बालेन्द्र शाले दुःखद घटनामा परी निधन भएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सम्बोधनका क्रममा वहाँले भन्नुभएको छ “स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति–सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरू सहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ । साथै, देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।
साथै वहाँले यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न-नगराउन अनुरोध समेत गर्नुभएको छ । सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न प्रधानमन्त्रीले विशेष आग्रह गर्नुभयो ।


