कृषकको सारथी बन्दै मरिण गाउँपालिका

सिन्धुली/उत्कृष्टताकोे पगरी त्यति सजिलै पाउने कुरा होइन । उत्कृष्ट हुन त्यति सजिलो पनि छैन । जसले आफ्नो बुद्धि, विवेक र श्रमको सही सदुपयोग गरेर आफ्नो जीवन मात्र होइन, समाज र देशलाई नै माथि उठाउन योगदान पुर्याउँछ उसैलाई उत्कृष्ट भनिन्छ ।

यही बुद्धि, विवेक र श्रमको सही सदपयोग गर्दै कृषि क्षेत्रको माध्यमबाट समाजमा योगदान पुर्याए बापत मरिण गाउँपालिकाले उत्कृष्ट कृषक घोषणा गरेर सम्मान गरेको पात्र हुन् तारा बहादुर बराल । मरिण गाउँपालिका वडा नम्वर ७ बार्हबिसेका बराल बिगत १४ वर्षदेखि कृषि पेशा गर्दैआएका छन् ।

बराल भन्छन्, “अहिले आफ्नै माटोमा पसिना बगाइरहेको छु । मेहनतको प्रतिफल पनि सन्तोषजनक छ । आजको सफलतामा गाउँपालिकाको सहयोग बिर्सन सकिँदैन ।”

व्यावसायिक कृषि सञ्चालन तथा निरन्तरता, आधुनिक प्रविधिको प्रयोग, उत्पादन र गुणस्तरीयता संगै कृषि मार्फत रोजगारी सिर्जना गर्न सफल भएका तारा बहादुर बराललाई गाउँपालिकाले प्रोत्साहन सहित उत्कृष्ट कृषकको रुपमा सम्मान गर्यो । आफ्नो श्रम र मेहेनत संगसंगै पालिकाबाट प्राप्त भएको निगरानी तथा सहयोगले झनै उर्जा मिलेको उनी बताउँछन् । “धेरै कमाउने आशमा वर्षौं विदेश बसियो, तर सोचेजस्तो सफलता मिलेन” बराल भन्छन्, “अहिले आफ्नै माटोमा पसिना बगाइरहेको छु । मेहनतको प्रतिफल पनि सन्तोषजनक छ । आजको सफलतामा गाउँपालिकाको सहयोग बिर्सन सकिँदैन ।”

मरिण गाउँपालिका कृषि क्षेत्रमा बलियो सम्भावना बोकेको स्थानीय तह हो । “कृषि पशुपालन र पूर्वाधार, मरिण गाउँपालिकाको बिकासको आधार” भन्ने मुख्य नारा बोकेको गाउँपालिकाले कृषि क्षेत्रमा प्राथमिकता दिएर लगानी गरिरहेको छ । जसले पालिकालाई समृद्धिको सपना पूरा गर्न टेवा पुर्याएको छ । कृषकहरुलाई आत्मनिर्भर बनाउन दत्तचित्त भएर लागिपरेको मरिण गाउँपालिकाले कृषिसंग सम्वन्धित विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ । यसका साथै अनुदान तथा अन्य प्राविधिक सहयोगका लागि पनि पालिकाले कृषकहरु छनौट गर्नेगर्छ ।

पालिकाले छनौट गरेर सहयोग गरेका किसानहरु मध्यका एक सफल कृषक हुन् तारा बहादुर बराल । ८ वर्षसम्म बिदेश बसेर नेपाल फर्केका बरालले एउटा टनेलबाट कृषि पेशा सुरु गरेका थिए । उनले अहिले २५ वटा टनेलमा विभिन्न प्रजातिका तरकारी तथा फलफूलहरु लगाएका छन् । कृषिमा पनि विशेषत: आलु खेतीबाट उनले मनग्य आम्दानी गर्छन् । यस वर्ष आलु खेतीबाट मात्रै २ लाख भन्दा बढी आम्दानी गरे ।

बागमती प्रदेश सरकारको सहयोग अन्तर्गत पालिकाले सञ्चालन गरेकोे “आलु पकेट प्रवर्द्धन कार्यक्रम” २०८१/०८२ र २०८२/०८३ को दुईवर्षे योजनामा उनी पनि छनौटमा परे । उनले यस वर्ष लगभग ५० कठ्ठा खेतमा आलु रोपेका थिए । गुणस्तरीय बीऊ, प्राविधिक सहयोग तथा आवश्यक सामानहरु कार्यक्रम मार्फत उपलब्ध भएपछि आलु उत्पादनमा अपेक्षा अनुरुपको लाभ मिलेको उनी बताउँछन् । बजारिकरणमा केही समस्या देखिए पनि त्यसलाई समाधान गर्न पालिकाले पनि सहयोग गरेको बरालको भनाई छ ।

आफ्नो पुर्ख्यौली कृषि पेशालाई नै निरन्तरता दिदैँ आएका मरिण गाउँपालिका ७ बार्हबिसेकै महेन्द्र श्रेष्ठले पनि यस वर्ष आलु खेतीमार्फत राम्रो आम्दानी गरेको बताउँछन् । विगत १४–१५ वर्षदेखि कृषि पेशामा आबद्ध उनी परम्परागत ढङ्गबाट नै व्यावसायिक रुपमा खेतीपाती गर्दै आइरहेका थिए । तर गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन ल्याएका नीति, योजना, तालिम तथा अनुदान कार्यक्रमले उत्पादनमा वृद्धि संगै लागत न्यूनीकरण र बजारमुखी खेती गर्न थप ज्ञान प्राप्त भएको छ ।

श्रेष्ठले गाउँपालिकाको सहयोगमा आफ्नो ३५ कठ्ठा जमिनमा आलु खेती गरेका थिए । उनले भने “कुल १०५ क्विन्टल उत्पादन भयो । जसबाट २ लाख माथि नै आम्दानी भयो ।” वर्षौंदेखि यही माटोमा खटेर आएको भन्दै श्रेष्ठ भन्छन्, “यसपटक गाउँपालिकाको कार्यक्रमले हामीलाई सही दिशा र साधन दियो । ३५ कठ्ठामा यति उत्पादन र आम्दानी हुन्छ भनेर पहिले सोचेको थिइनँ । गाउँपालिकाले हामीलाई नहेरेको भए हाम्रो यो सपना कहाँ पूरा हुन्थ्यो र ।”

मरिण गाउँपालिकाले कृषकहरूको जीवनस्तर उकास्ने अठोटका साथ आलु पकेट प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्यायो । यो कार्यक्रम केवल एउटा सरकारी योजना मात्र नभई गाउँपालिकाले कृषकहरुको स्तरोन्नतीको लागि चालेको कदम पनि हो । गाउँपालिकाका जनप्रतिनिधिहरूले स्थानीय कृषकहरुसँग प्रत्यक्ष सम्बाद गरी उनीहरूको आवश्यकता पहिचान गर्दै यस कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको हो । अनुभवी, मेहनती र उत्साही कृषकहरूलाई छनौट गरी उन्नत बीउ, प्राविधिक सहयोग र आवश्यक स्रोत–साधन उपलब्ध गराउने गाउँपालिकाको यो पहल प्रशंसायोग्य रहेको स्थानीय कृषकहरु बताउँछन् । अन्ततः गाउँपालिकाले दिएको प्राविधिक ज्ञान, उन्नत बीउ र निरन्तर अनुगमनले उत्पादकत्व उल्लेखनीय रूपमा बढाएको छ ।

तथापि पालिकाले आफ्नो क्षेत्रमा पाएको उपलब्धिलाई अझ दिगो र व्यापक बनाउन धेरै काम गर्न बाँकी छ । बजारमूल्यको अस्थिरता, भण्डारण पूर्वाधारको अभाव र सीमित किसानको छनौट जस्ता चुनौतीहरू अझै विद्यमान छन् । तर यी चुनौतीहरूलाई पनि मरिण गाउँपालिकाले आफ्नो भावी योजनामा समेट्दै कोल्ड स्टोर निर्माण, सहकारी सञ्जाल विस्तार र बजार व्यवस्थापन सुदृढीकरण तर्फ काम अगाडि बढाउने अपेक्षा स्थानीय कृषकहरूले राखेका छन् । गाउँपालिकाले हालसम्म गरेका काम र प्रतिबद्धतालाई नियाल्दा राखिएका अपेक्षाहरु पूरा हुनेमा कृषकहरु विश्वस्त छन् ।

बराल र श्रेष्ठ जस्ता अन्य दर्जनौँ सफल र उत्कृष्ट किसानहरु उत्पादन गर्न मरिण गाउँपालिका अझ डटेर लाग्नुपर्ने तिनै सफल किसानहरु बताउँछन् । जति गरिएको छ राम्रो छ । तर यो पर्याप्त होइन । आलु तथा अन्य तरकारी खेतीमा पालिकाले आवस्यक कृषक छनौट गरि जरुरी पर्ने सवै सहयोग उपलव्ध गराएर प्रोत्साहन गर्ने गाउँपालिका अध्यक्ष प्रख्यात मुक्तानले बताए । कार्यालयले कृषकमैत्री कार्यक्रम सन्चालन तथा प्रवद्र्धनमा कुनै कन्जुष्याँइ नगरेको कृषि शाखा प्रमुखको भनाई छ । मरिण गाउँपालिकाले कृषि र कृषकहरुलाई गरेको सहयोग तथा प्रोत्साहन देखेर भन्न सकिन्छ “कृषिमा लगानी : मरिणको सुनौलो बिहानी ।”
                                                                                                                                                                     (मरिण गाउँपालिकाको सहयोगमा तयार गरिएको)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *