घ्याङ्लेखमा एकीकृत घुम्ती शिविर, १ हजार भन्दा बढिले सेवा लिए
सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकामा एकीकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम सन्चालन गरिएको छ ।
गाउँपालिकाले सन्चालन गरेको एकीकृत घुम्ती शिविरबाट वडा नम्वर ४ र ५ दुई वटा वडा गरी एक हजार १ सय २१ जनाले सेवा लिएका छन् । जस अन्तर्गत ४ नम्बर वडाबाट ४ सय ७८ जनाले र ५ नम्बर वडाबाट ५ सय ४३ जनाले सेवा लिएका छन् ।
पालिकाले उपलब्ध गराएको तथ्याकं अनुसार वडा नम्बर ५ बाट कृषि सेवा १४६ जनाले, पशु उपचार सेवा ११४ जनाले र आयुर्वेद उपचार सेवा १११ जनाले लिएका छन् । त्यसैगरी निःशुल्क स्वास्थ्य परीक्षण ९६ जनाले, खकार जाँच २७ जनाले, भिआईए जाँच ३४ जनाले गरेका छन् भने ज्येष्ठ नागरिक परिचयपत्र १३ जनालाई वितरण गरीएको छ । त्यस्तै अन्य प्रशासनिक सेवा २ जनाले लिएका छन् ।
यसैगरि वडा नम्बर ४ मा भएको शिविरबाट २०६ जनाले कृषि सेवा, १२० जनाले पशु उपचार सेवा, १२५ जनाले आयुर्वेद उपचार सेवा र ६७ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् । त्यस्तै ३० जनाले खकार जाँच, २५ जनाले भिआईए गरेका छन् भने ३ जनाले ज्येष्ठ नागरिक परिचयपत्र र २ जनाले प्रशासनिक सेवा लिएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रम पनि वडा नं.४ र ५ मा नै गरिएको बताइएको छ । कार्यक्रममा वडाले चालु आर्थिक वर्षमा प्रवाह गरेका वस्तु तथा सेवाको गुणस्तर एवं सेवा प्रवाहको अवस्थाको विषयमा वडाका सरोकारवाला व्यक्ति र सम्वन्धित वडाबासीहरुबीचमा सवाल जवाफ भएको थियो । साथै छलफलका क्रममा उठेका विषयहरु माथि पालिकाका प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले थप प्रष्ट पार्नुभएको थियो ।

यस प्रकृतिका घुम्ती शिविरहरु गाउँपालिकाले समय समयमा सन्चालन गर्दैआएको प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलको भनाई छ । जसले गर्दा स्थानीयले घण्टौँ धाएर पालिका आउनुपर्ने समस्या केहि हदसम्म न्युन भएको छ । वडा वडामा गएर यस्ता प्रकारका शिविरहरु संचालन गर्नसके स्थानीयमा निकै राहत मिल्ने स्थानीयहरु बताउँछन् । उनिहरुको अपेक्षा पनि गाउँपालिकाले आफ्नो वडामा समय समयमा घुम्ती शिविरहरु सन्चालन गरेर स्थानीय सरकारप्रति थप विश्वास जित्न सकोस् भन्ने नै हो ।



