युवाको व्यक्तित्व विकासमा खेलकुद महत्त्वपूर्ण : अध्यक्ष मोक्तान
सिन्धुली/मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले खेलकुद प्रतियोगिताले युवाहरूको स्वास्थ्यसँगै व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने बताउनुभएको छ ।
पाचौँ मरिण गाउँपालिकास्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले खेलकुदले आत्मविश्वास बढाउन पनि मद्दत पुग्ने भएकाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै आइरहेको बताउनुभयो ।
खेलाडीले खेलकुदका माध्यमबाट आफूभित्र रहेको प्रतिभा प्रस्फुटन गरी अन्तर्राष्ट्रियस्तरमा देशको नाम उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुहुँदै उहाँले गाउँपालिकाले खेलकुदलाई विकास र समृद्धिको एउटा महत्त्वपूर्ण अंग मानेको उल्लेख गर्नुभयो ।
“नेतृत्व तथा गाउँपालिका सरकारले पूर्ण समर्थन गर्दै बाटो देखाइदिने मात्रै हो । उत्कृष्ट खेल खेलेर शिखरमा पुग्ने काम खेलाडीले गर्नुपर्छ,” अध्यक्ष मोक्तानले भन्नुभयो ।
उहाँले खेल र खेलाडीलाई व्यावसायिक बनाउन जोड दिनुभयो । गाउँपालिकाले यो वर्ष पनि खेलकुदका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । खेलकुद क्षेत्रलाई बलियो बनाउनेगरी खेलाडी उत्पादनमा प्राथमिकता दिने उहाँको प्रतिबद्धता छ । गाउँपालिकाले खेलकुदका लागि दिगो नीति बनाएर अघि बढ्नेसमेत अध्यक्ष मोक्तानले बताउनुभयो ।
सोमबारबाट सुरु भएको पाँचौँ मरिण गाउँपालिकास्तरिय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको फुटबलतर्फ महिला र पुरुष दुवैको खेल हुने छ । जसमा महिला र पुरुष दुवैतर्फका प्रथम हुनेलाई ४५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीयलाई २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका रेफ्री ज्ञान तामाङका अनुसार पुरुष फुटबल प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ । फुटबलसँगै क्रिकेट, ब्याटमिन्टन, कराँते, दौडलगायतका प्रतियोगिता हुने गाउँपालिकाले जानकारी दिएको छ ।