• भदौ १९,सिन्धुली/राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत चयन हुनुभएको छ । बुधबार सिन्धुलीमाढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष नेपालीसहित सात सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।

    नयाँ कमिटीको उपाध्यक्षमा पुन सुनिता दर्नाल दोहोरिनुभएको छ । त्यस्तै सचिवमा गंगा विशंखे, सहसचिवमा आस्था विश्वकर्मा, कोषाध्यक्षमा विशाल सतशंकर, सदस्यहरु देविका विश्वकर्मा र ग्रिस्मा दियाली चयन भएको संघले जानकारी दिएको छ ।
    यसअघि जिल्ला शाखाका अध्यक्ष राजन लेकालीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन संघका केन्द्रीय सदस्य राजन गाउलेले गर्नुभएको थियो ।

    दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सामाजिक सञ्जालका कारण पत्रकारितामा चुनौती थपिएको बताउनुभयो । पत्रकारिता पेसामा इमान्दारिता र निरन्तरता महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । “पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेसा हो । सोसल मिडियाले अझ जिम्मेवार बन्नुपर्ने चुनौती थपिएको छ,“ उहाँले भन्नुभयो ।

    मूलधारको पत्रकारितामा दलित समुदायको उपस्थिति बढाउन विभिन्न चुनौती रहेको पनि उहाँले औंल्याउनुभयो । पत्रकारितामा दलित पत्रकारहरुको उपस्थिति बढाउनकै लागि दलित पत्रकार संघ स्थापना भइ काम गरिरहेको केन्द्रीय सदस्य गाउलेले बताउनुभयो ।

    “अब दलित पत्रकारहरूलाई संगठनले नेपाली मिडियामा सिक्ने, बिक्ने र टिक्नेगरी क्षमता अभिवृद्धि गर्न पहल गर्ने छ । जसले समाजमा लुकेका र लुकाइएका पछाडि पारिएका समुदायका मुद्दाहरूलाई उजागर गर्न सकोस् भन्ने हाम्रो उद्देश्य हो,“ उहाँले भन्नुभयो ।