• फागुन २८, सिन्धुली/ ग्लोबल आईएमई बैंक जिल्ला शाखा सिन्धुलीले आज वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आईएमई बैंक जिल्ला शाखा सिन्धुलीले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

    ग्लोबल आईएमई बैंक जिल्ला शाखाका लोन म्यानेजर फडिन्द्र प्रसाद गौतमले पाँच हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धि विषयवस्तुबारे सहजीकरण गर्नुभएको थियो ।

    पछिल्लो समय बैंकको कर्मचारी भनेर विभिन्न किसिमको ठगी हुने गरेको भन्दै सावधानी रहन उहाँले अनुरोध गर्नुभएको छ । “बैंकका कर्मचारीले फोन गरेर तपाइँकाे खाता निष्क्रिय हुन लागेको छ सक्रिय गराइदिन्छु भन्दै पासवर्ड माग्ने खालका गतिबिधि कहिल्यै गर्दैनन् । तिनिहरु लुटेरा हुन्” गौतमले भन्नुभयो । वित्तीय साक्षरता कार्यक्रममा लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावना रहेका व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा युवतीको सहभागिता रहेको थियो ।

    अधिकांस बैंकहरुले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सन्चालन गर्ने गर्दछन् ।