• माघ २, सिन्धुली/नेपालको सात सय ५३ वटा स्थानीय तहमध्ये वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुलीको मरिण गाउँपालिका नेपालकै उत्कृष्ठ बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्सेनि स्थानीय तहहरुको मूल्याङ्कन गरी उनीहरुले पेस गरेका योजनामा बजेट पठाउँने गरिन्छ ।

    कार्यविधि बनाएर गरिएको मुल्याङकनमा मरिण गाउँपालिकाले ९७ दशमलव ५ अंक ल्याएर नेपालकै उत्कृष्ठ स्थानिय तह बनेको मन्त्रालयले जनाएको छ । जसमा गाउँपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा २८, लेखाड्ढन तथा प्रतिवेदनमा १७, अनुगमन, मुल्यांकन तथा लेखा परिक्षणमा १६ र राजस्व व्यवस्थापनमा १६ दशमलव ५ अंक प्राप्त गरेको छ ।

    वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा दैलेख जिल्लाको भगमतिमाई गाउँपालिका ९५ अंक सहित दोस्रो भएको छ भने सिन्धुलीको घ्याङलेख गाउँपालिका नेपालकै तेस्रो स्थानिय तह भएको छ । घ्याङलेखले ९२ नम्बर प्राप्त गरेर तेस्रो स्थान प्राप्त गरेको हो ।

    मन्त्रालयले स्थानीय तह वित्तीय सुशासन मूल्याङ्कन, स्थानीय आर्थिक मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणालीमा स्थानीय तहहरुले गरेका कामका अधारमा मात्रै विकास बजेट पठाउँदै आएको छ ।

    यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नमा सिन्धुलीको मरिण गाउँपालिका बागमती प्रदेशकै प्रथम स्थानीय तह बन्न सफल भएको छ । स्वमूल्याङ्नमा ९४ दशमलव ७ अंक प्राप्त गरेर मरिण प्रथम भएको हो ।

    वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ठ भए सँगै झनै काम गर्ने उर्जा मिलेको गाउँपालिका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) ले बताउनु भयो । “गाउँगाउँमा सिंहदरबार” भन्ने सरकारले लिएको मुल नारालाई मार्गदर्शन बनाएर काम गरिएको उहाँले बताउनु भयो ।

    यता मरिणका जनताले भने युवा जनप्रतिनिधिले नेतृत्वको कारण गाउँपालिकाले सफलता प्राप्त गरेको भन्दै खुसि व्यक्त गरेका छन् । मरिण गाउँपालिकाका मान वहादुर भुजेलले मरिणको युवा नेतृत्वले कल्पनाशील, सिर्जनशील र उत्पादनशीलका साथ काम गरेको कारण सफलता प्राप्त भएको बताउनु भएको हो ।

    “युवामा प्रतिष्पर्धा गर्ने आँट बढि हुन्छ । युवामा भिड्ने, डट्ने र खट्ने गुण हुन्छ । उनीहरुमा आफ्नो देशको विकास र समृद्धिको हुटहुटि हुन्छ । त्यसैले अवको नेतृत्व युवाले गर्न आवश्यक छ” उहाँले भन्नुभयो ।