• मंसिर १०, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा चौथो मरिण महोत्सव २०८० हुने भएको छ । सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा पौष ६ गतेबाट १६ गते सम्म १० दिन मरिण महोत्सवको आयोजना गरिएको हो ।
    “स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवद्धन गरौँ” भन्ने मुल नारा सहित कृषि, पर्यटन, साँस्कृतिक, सुचना प्रबिधि तथा व्यापार मेलाको आयोजना गरिएको सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाका अध्यक्ष चिनध्वज बोम्जनले जानकारी दिनुभयो ।
    महोत्सवको उद्घाटन पुस ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले गर्नुहुने छ । चौथो मरिण महोत्सवबाट उठेको नाफा रकमबाट सिन्धुली उद्योग बाणिज्य संघ मरिणको वडा नँबर ६ कृषिबजारमा निर्माणाधिन कार्यालय भवनको दोस्रो तला निर्माण गरिने योजना गरिएको बोम्जनको भनाई छ ।
    मरिणको वडा नम्बर ४ साहान स्थित रंगशालामा हुने महोत्सवमा ७० वटा स्टल रहने छ । जसमा १० वटा स्टल स्थानीय उत्पादन प्रदर्शनको लागि कृषकलाई निशुल्क उपलब्ध गराइने अध्यक्ष बोम्जनले बताउनु भयो । उहाँले भन्नुभयो “मरिण महोत्सवमा किसानलाई प्रोत्साहन गर्नको निम्ति १० वटा स्टल निशुल्क उपलब्ध हुनेछ ।”
    महोत्सवमा लगभग ७५ लाख लगानी लाग्ने अनुमान गरिएको छ भने आम्दानी ८३ लाख लिइने लक्ष्य रहेको आयोजकले जनाएको छ । १० दिन सम्म सन्चालन हुने महोत्सवमा सिन्धुली, सर्लाहि, रामेछाप, काठमान्डौँ लगायतका विभिन्न जिल्लाहरुका ५० हजार मानिसले अवलोकन गर्ने बताइएको छ ।
    सिन्धुली उद्योग बाणिज्य संघ मरिणका अध्यक्ष बोम्जनले मरिण महोत्सवले सिन्धुलीका ऐतिहासिक धार्मिक स्थलहरु पन्चकन्या पोखरी, सिन्धुलीगढी दरबार, हरिहरपुरगढी किल्ला, लगायतका स्थानहरुमा पनि अवलोकनका लागि पर्यटकहरु भित्रिने विश्वास रहेको बताउनुभयो ।
    मरिण महोत्सवमा प्रयास होटल प्रालि सिन्धुलीले प्याराग्लाइडिङ गराउने छ भने १० दिन सम्म राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक प्रस्तुती दिइने आयोजकले बताएको छ ।