यातायात कार्यालयका तत्कालीन उपसचिव भट्टराई विरुद्ध १ करोड १५ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

बैशाख १९, काठमाण्डौ/यातायात कार्यालयका तत्कालिन उपसचिव सुन्दर भट्टराई विरुद्ध १ कराड १५ लाख २९ हजार १९३ रुपैयाँ भ्रष्टाचार गरेको मुद्धा दायर भएको छ ।
सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध एक करोड रुपैयाँभन्दा धेरै भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।
तत्कालीन उपसचिव भट्टराईले आर्जन गरेको सम्पत्तिको अनुसन्धान गर्दा एक करोड १५ लाख २९ हजार रुपैयाँको स्रोत नखुलेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । २०३८ सालदेखि २०७५ सालसम्म सरकारी सेवामा रहँदा भट्टराईले तलब भत्ता, श्रीमतीको तलब भत्ता, बाबुआमाको तलब र निवृतिभरण, सञ्चय कोष, लगानी कोष, शेयर, बैंक बचतलगायत सबै प्रकारका आम्दानी जोड्दा एक करोड ९२ लाख रुपैयाँ आर्जन गरेको अख्तियारले जनाएको छ । तर भट्टराईको खर्च र सम्पत्ति तीन करोड सात लाख रुपैयाँ देखिएकाले आय र व्ययबीचको अन्तरको रकमलाई भ्रष्टाचार गरेको रकम मानेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको छ । भट्टराईको एक करोड १५ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको तथा जीवनशैलीसमेत अति उच्च खालको रहेको पुष्टि भएकाले कानुनअनुसार कैद सजाय र स्रोत नखुलेको रकम जफतको माग राखिएको पनि अख्तियारले जनाएको छ । स्रोत नखुलेको सम्पत्ति श्रीमती मुना भट्टराई, छोरा उत्सकु र छोरी प्रेरिका तथा मृत्यु भइसकेकी आमा इन्दिराका नाममा रहेकाले उनीहरू सबैलाई सम्पत्ति जफतका लागि प्रतिवादी कायम गरिएको पनि प्रवक्ता दाहालले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *