• फाल्गुण १, सिन्धुली/जिल्ला खेलकुद विकास समिती सिन्धुलीको प्रशासकीय भवनको सिलान्यास गरिएको छ । कमलामाई नगरपालिका वडा नम्बर ७ को आफ्नो जमिनमा आज सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले प्रशासकिय भवनको सिलान्यास गर्नुभएको हो ।
    भवनको सिलान्यास गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दाहालले लामो समय देखि भाडामा बस्दै आएको खेलकुद समितीको आफ्नै भवन नहुँदा प्रशासकीय काममा समस्या भएकाले प्रदेश सांसद हुँदा नै पहल गरिएको काम आज पुरा भएको बताउनु भयो । मुलूकलाई स्थापित गर्ने, प्रचार गर्ने मुख्य माध्यम खेल जगत पनि भएकाले जिल्लामा गुणस्तरीय र अब्बल खेलाडी जसले अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिष्पर्धा गर्न सक्छ । त्यस्ता खेलाडीको उत्पादन गर्न जरुरी रहेको दाहालको भनाई छ ।
    बागमती प्रदेश सरकारको ४३ लाख बजेटमा प्रशासकीय भवन निर्माण हुन लागेको जिल्ला खेलकुद विकास समिती सिन्धुली अध्यक्ष वीर बहादुर थिङ(बिशाल)ले जानकारी दिनुभयो । भवन निर्माणको लागि वीरवीर कन्ट्रक्सन सिन्धुलीले ठेक्का पाएको छ । सम्झौता अनुसार आगामी असार मसान्त सम्ममा निर्माण सम्पन्न गरिनुपर्ने भए पनि बैशाखसम्ममा भवन निर्माण सम्पन्न हुने बिरबिर कन्ट्रक्सन सिन्धुलीका प्रोप्राइटर वीर बहादुर श्रेष्ठले बताउनु भयो ।