• सिन्धुली/उच्च स्तरीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दै रुख कटान, विक्रि वितरण तथा ओसार पसारमा लगाईएको प्रतिवन्ध फूकुवाको माग सहित सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीले ज्ञापन पत्र बुझाएको छ । महासंघले डिभिजन वन कार्यालय सिन्धुलीमार्फत बागमती प्रदेश, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

    सामुदायि वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठको नेतृत्वमा गएको टोलिले ९ वुँदे माग सहित डिभिजन वन अधिकृत थीरबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा रोकिएका काठ कटान ओसार पसार र विक्रिवितरण तत्काल खुल्ला गरियोस्, सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजनामा उल्लेख भए वमोजिम साधारण सभाले गरेको निर्णय अनुसार वन सम्बद्र्धनका कार्यहरु गर्नदिईयोस्, दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता, सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैगिंक समानता र सामाजिक समावेशिकरणलाई समेत ध्यानमा राखी दिगो वन व्यवस्थापन गरियोस् जस्ता मागहरु समावेश छन् । ।


    सामुदायिक वन उपभोक्ता समूहले लामो समय देखि आफ्नो वनबाट संकलित सालको काठ लगायतका वन पैदावरको सदुपयोग एवं विक्रि वितरण गर्नबाट बञ्चित हुनु पर्ने अवस्था सृजना भएमा समूहले कटान गरेका काठ तथा दाउरा समूहको विधान कार्ययोजना अनुसार विक्रि वितरण गरी उपभोक्ताहरुको मागलाई समेत ध्यानमा राखी माग अनुसारको वन पैदावर वितरण गर्ने व्यवस्था मिलाउन महासंघले माग समेत गरेको छ ।


    वन क्षेत्रमा अनियमितता भएको भन्दै नेपाल सरकार मन्त्रीपरिषदबाट मिति २०७७ जेष्ठ १५ गते वन क्षेत्रबाट काठ ओसार पसार विक्रिवितरणमा प्रतिवन्द लगाएको थियो । सो निर्णयले सिन्धुलीमा लाखौं मूल्यका काठ घाटगद्धि स्थान तथा जंगलमा नै अलपत्र परेको छ । जसका कारण वन समितिलाई समेत नोक्सान पुगेको छ ।