• सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.६ मा निर्माणाधिन आइसोलेसन भवन निर्माणका लागि निरन्तर सहयोग जुटिरहेको छ । सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश सरकारको ९७ लाख रुपैयाँमा उक्त आइसोलेसन भवनको निर्माण कार्य सुरु गरिएको हो ।
    भवन निर्माणका लागि अपुग रकम स्थानीय तह, समाजसेवी, संघसँस्था लगायत व्यक्तिगत रुपमा सहयोग संकलन गरेर निर्माण सम्पन्न गरिने बताइएको छ । सहयोग संकलनका क्रममा कमलामाई नगरपालिकाले तीन लाख रुपैयाँ रकम सहयोग गरेको छ । नगर प्रमुख खड्ग बहादुर खत्रीले भवन निर्माण समितिका संयोजक अशोक श्रेष्ठलाई तीन लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । यसका अलवा कमलामाई नगरपालिकाले आइसोलेसन भवन निर्माणको इस्टमेट, प्राबिधिक सहयोग, पानी सप्लाईको लागि ट्याङ्कर लगायत अन्य सहयोग समेत उपलव्ध गराएको छ । त्यस्तै इन्जियर्स फोरम सिन्धुलीले लागत स्टमेट, नक्सांकनका साथै निःशुल्क प्राविधिक सेवा उपलव्ध गराएको छ । जिल्लामा निर्माण हुनलागेको पहिलो आइसोलेसन भवन निर्माणका लागि कमलामाई नगरपालिकाले सबै खालका सहयोग गर्न तयार रहेको नगर प्रमुख खड्ग खत्रीको भनाइ छ ।
    त्यस्तै सुनकोशी गाउँपालिकाले भवन निर्माणका लागि गिट्टी, बालुवा सहयोग गरेको छ । तीन करोड लागत लाग्ने अनुमान गरिएको उक्त आइसोलेसन भवन निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । जिल्लाका सवै स्थानीय तह, राजनीतिक दल, समाजसेवी, संघसँस्था लगायत सवैको सहयोगसंगै आइसोलेसन भवन निर्माण कार्यले तिव्रता पाइरहेको छ । यहाँका सवै स्थानीय तहहरुले भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।