• सिन्धुली/कोरोना भाइरसका कारण लाग्ने रोग कोभिड–१९ ले विश्वमा महामारीको रुप लिँदै गएपछि नेपाल सरकारले पनि चैत्र ११ गतेदेखि लागू हुनेगरि देशव्यापी रुपमा बन्दाबन्दीको घोषण ग¥यो । जसको असर सबै क्षेत्रमा परिरहेको छ ।
    बन्दाबन्दीका कारण कार्यालयहरु खुल्न पाएका छैनन् भने यातायातका साधन प्रायः ठप्प जस्तै भएको छ । जसले गर्दा सरकारी आम्दानीको मुख्य श्रोत मानिने सरकारी राजस्व अपेक्षा अनुसार संकलन हुन सकेको छैन । राष्ट्रिय राजस्व संकलन नै न्युन भएको अवस्थामा स्थानीय तहबाट संकलन हुने राजस्व अपेक्षाकृत नहुनु स्वाभाविक मानिन्छ ।
    बन्दाबन्दीका अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने नीजि तथा सरकारी निकायले निरन्तर सेवा प्रवाह गर्न नसक्दा आम्दानीको श्रोत अवस्य नै घट्छ । सवैक्षेत्रमा राजस्व संकलन न्युन भैरहँदा यहाँको कमलामाई नगरपालिका कार्यालयको वार्षिक राजस्व संकलनमा पनि कमी आएको छ । कमलामाई नगरपालिका कार्यालय राजस्व उपशाखाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७६/७७ मा एक करोड रुपैयाँ कम वार्षिक आय संकलन भएको छ ।
    आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाको आय जम्मा ५ करोड ७ लाख २७ हजार २ सय ७३ रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा जम्मा ४ करोड ३ लाख ८२ हजार ४ सय ६० रुपैयाँ मात्र आय संकलन भएको राजस्व उप शाखा प्रमुख कुमार थापाले जानकारी दिनुभयो । आय संकलन विवरण अनुसार गत आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७६/७७ मा १ करोड ३ लाख ४४ हजार ४ सय १३ रुपैयाँ कम राजस्व संकलन भएको छ । दुवै आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन नभएको नगरपालिकाका लेखा अधिकृत टेकेन्द्र कार्कीले जानकारी दिनुभयो ।
    ‘विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसका कारण सरकारले घोषणा गरेको लकडाउनका बेला सेवा प्रवाह गर्न नसक्दा कार्यालयको आय संकलनमा समेत असर परेको छ, जसका कारण लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको हो,’ लेखा अधिकृत कार्कीले भन्नुभयो ‘हामी लक्ष्य भन्दा बढि नै राजस्व संकलन गर्न सक्थ्यौँ तर लकडाउनको असर सेवा प्रवाहमा समेत परेपछि राजस्व संकलनमा कमि हुनु स्वभाविक हो ।’
    आर्थिक वर्ष २०७६/७७ मा कमलामाई नगरपालिकाले सबैभन्दा बढि राजस्व सम्पत्ति कर शिर्षकमा संकलन गरेको छ भने सबैभन्दा कम विशेष अनुदान पूँजीगत शिर्षकमा संकलन गरेको छ । सम्पत्ति कर, घरबहाल कर, बहाल बिटौरी कर, व्यवसाय रजिष्टे«शन दस्तुर, अन्य कर, अन्य सेवा शुल्क, नक्सापास दस्तुर, सिफारिस, प्रशासनिक दण्ड जरिवाना लगायतका शिर्षकबाट कार्यालयले उक्त राजस्व संकलन गरेको हो ।