• – जनार्दन कोइराला
    २०७७ साल जेठ १० गतेको साँझ पश्चिम नेपालको जाजरकोट जिल्ला भेरी नगरपालिकाका लागि निकै दुःखद र कहालीलाग्दो बनेर देखा प¥यो । उक्त नगरपालिकाको वडा नं ४ रानागाउँका १८ देखि २३ वर्ष उमेरका आधा दर्जन होनहार युवाहरूलाई रुकुम पश्चिम जिल्लाको चौरजहारी नपा वडा नं. ८ सोतीका स्थानीय वासिन्दाको समूहले ढुङ्गा, चिर्पट आदिले हानेर भेरी नदीमा फ्याँकी एकैसाथ गरिएको बर्बर र नृशंस हत्याको समाचारले रानागाउँ मात्र होइन सम्पूर्ण मानवताप्रेमी नेपालीहरुलाई मर्माहत तुल्यायो । ६ जना होनहार युवाहरूको परिवारले आफ्ना भविष्यका आशा भरोसाका केन्द्रका रूपमा रहेका सन्तानलाई अकालमा गुमाउनुपर्दा ती परिवारमा परेको पीडाको अनुमान मात्रै लगाउन पनि गाह्रो छ । यो हदसम्मको क्रुर आततायी, नृशंस र पाशविक हत्या जो कोहीले जुनसुकै कारणले गराएको भए पनि यसको निन्दा र भत्र्सना गर्ने कुनै शब्द छैन ।
    रुकुम जिल्लाको चौरजहारी नपा वडा नं ८ स्थित सोती गाउँमा भएको उक्त घटनाबाट जाजरकोटको भेरी नपा ४ का नवराज विक (२० वर्ष) सहित सन्जु विक (२३ वर्ष), लोकेन्द्र सुनार (१८ वर्ष), टिकाराम सुनार (२० वर्ष),गणेश बुढामगर (१९ वर्ष) र गोविन्द शाही (१८ वर्ष) ले ज्यान गुमाएका छन् । तीमध्ये घटनाको केन्द्रमा भने नवराज विक रहेका छन् । अन्य ५ जनाको त्यति धेरै चर्चा भएको पाइँदैन । संयुक्त राष्ट्र संघ तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत गम्भीर रूपमा लिएको उक्त घटनामा एकै स्थानमा एकै प्रकृतिको घटनाका कारण अकालमा बीभत्स हत्या गरिएका ६ जना व्यक्तिहरू मध्ये किन एकजनाको मात्रै चर्चा भयो ? बाँकी ५ जना ओझेलमा पर्नुको कारण के हो ? किन सबैको ध्यान नवराज माथि मात्रै केन्द्रित हुन पुग्यो त ? यसै सेरोफेरोमा रहेर केही रहस्यहरूको विश्लेषण गर्ने प्रयास यस लेखमा गरिएको छ ।
    के हो रुकुम घटना ?
    रुकुम नरसंहार दुई युवायुवती बिचको आपसी प्रेम सम्बन्धबाट सुरु भएको विवाद बढ्दै गएर अन्त्यमा नरसंहारको दुःखद अवस्था सिर्जना भएको देखिन्छ । भेरी नपाका २० वर्षका युवक नवराज विक र चौरजहारी नपाकी १७ वर्षकी किशोरी सुष्मा मल्ल विच विगत २÷३ वर्षदेखि आपसमा प्रेम सम्बन्ध थियोे । दलित युवक र गैरदलित युवती विचको सम्बन्ध भएकाले जातीयताकै कारण युवतीका अभिभावकले त्यसप्रति असहमतिका कारण बढ्दै गएको असमझदारीबाट सिर्जित घटनाको परिणति भएकाले यसलाई जातीय विभेदको मुद्दाको रूपमा हेरिएको छ । आफ्नो प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्ने प्रयासमा नवराजको युवतीका अभिभावक तथा गाउँलेसँग यस अघि पनि दुई पटक विवाद भैसकेको कुरा आएको छ । दुई पटकसम्मको प्रयास सफल हुन नसकेपछि तथा आफूमाथि कुटपिट र दुव्र्यवहार समेत भएको घटनाबाट नवराज सुष्मालाई जसरी पनि भगाउने निस्कर्षमा पुगेका थिए भन्ने अनुमान लगाउन गाह्रो छैन ।
    नवराजको परिवारका सदस्यले विभिन्न अनलाइन मिडियामा दिएका प्रतिक्रिया हेर्दा नवराज स्वाभाविक रूपमा विवाह गर्न गएको भन्ने पनि देखिदैन । उनी घरका मानिसलाई कुनै सूचना नदिई घरबाट एक्लै निस्केका थिए । तर रुकुम पुग्दा १८ जना युवाहरूको दलबलसहित पुगेको कुरा पुष्टि नै भैसकेको छ । पछि गाउँका अर्कै व्यक्तिले उनीहरू केटी भगाउन रुकुम गएको जानकारी आएको कुरा फोनमार्फत परिवारलाई जानकारी गराएका थिए भनिएको छ । यति ठूलो समूहमा एकनासका युवाहरू जानुले उनीहरू मुठभेडको पूर्व मानसिकता बनाएरै गएको अनुमान लगाउन सकिन्छ । केटा केटीको बिचमा विवाह गर्ने वा भाग्ने सहमति भएको भए यति ठूलो संख्यामा जानुपर्ने देखिदैन । सुष्मासँग नवराज निरन्तर फेसबुक, मेसेन्जर, फोन लगायतका माध्यमहरू मार्फत सम्पर्कमा रहेको तथा युवती पहिले पनि पटकपटक नवराजको घरमा गएको र वाससमेत बसेको कुरा त नवराजको परिवारका सदस्यले नै बताइरहेका छन् भने युवतीलाई बाहिर नै बोलाएर बिहे गर्न वा भाग्न पनि नसक्ने सम्भावना देखिँदैन । यस्तो अवस्थामा लकडाउनको समयमा तेत्रो ठूलो संख्यामा समूह लिएर जानुपर्ने आवश्यकता किन प¥यो भन्ने प्रश्न अनुत्तरित छ । त्यसैले समूहमा जाने व्यक्तिहरूको युवा जोसका कारण आवेगमा आएर गरिएको अपरिपक्व निर्णयका कारण समस्या उत्पन्न भएको कुरालाई पनि नकार्न नमिल्ने देखिन्छ ।
    घटना दलित सवालसँग मात्र सम्बन्धित हो त ?
    रुकुम नरसंहार काण्डमा घनीभूत रूपमा उठेको सवाल हो नवराज दलित भएकै कारण उसको हत्या भएको हो । तर यो घटनालाई दलित जातीय रंगको कसीमा मात्रै हेर्दा सोही हत्याकाण्डको सिकार भै ज्यान गुमाएका गैर दलित जातिका गोविन्द शाही र गणेश बुढामगरप्रति अन्याय हुन्छ कि हुँदैन ? सो घटना दलित र गैर दलित समूह बिच मात्रै भएको देखिँदैन । पीडित पक्षको समूहमा गैरदलितहरू पनि उत्तिकै रहेको देखिन्छ । गैरदलित र दलितबिचको समस्या भएकाले हामीले किन सहयोग गर्नु भनेर उसका गैर दलित साथीहरूले उसलाई असहयोग गरेका छैनन् । दुई जनाको त सँगै मृत्यु पनि भएको छ । तसर्थ यो मुद्दालाई दलितको समस्या भन्दा पनि मानवताविरोधी घटनाकै कसीमा हेर्नु बढी न्यायसंगत देखिन्छ तर आम अधिकारकर्मी, संचार जगत तथा सर्वसाधारणको मुख्य आवाज नवराज विकमै केन्द्रित हुँदा बाँकी ५ जना मृतकप्रतिको आवाज ओझेलमा परेको पाईन्छ । यसले सही न्याय हुन्छ त ? नवराजकै प्रेम सम्बन्धसँग सम्बन्धित भएर सम्पूर्ण घटनाक्रम विकसित भएकाले उसको बढी चर्चा हुनु पनि अस्वाभाविक त होइन तर के कुरा पनि भुल्नु हुँदैन भने नवराजका ५ जना साथीहरूले उसको खुसी दिलाउने प्रयत्नमा ज्यान गुमाएका हुन् । तर विडम्बना जातीय मुद्दालाई प्रमुख र मानवीय संवेदनालाई गौण स्थान दिइएको छ । उसो त आफ्नो स्वार्थ पूरा गर्ने क्रममा ज्यान गुमाउनेभन्दा अर्काको निमित्त ज्यान दिनेको मूल्यांकन अझ उच्च हुनुपर्ने हो । यसो भनेर यहाँ यसको हत्या ठिक उसको बेठीक भन्न खोजिएको पनि होइन । अगाडि नै उल्लेख गरिसकियो कि यो वा त्यो जुनसुकै बहानामा गरिएको कसैको पनि हत्यालाई कुनै पनि हालतमा क्षम्य मान्न सकिँदैन । सबैको बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित हुनुपर्छ । त्यसमा पनि यस घटनामा त अझ एउटा नितान्त प्रेम सम्बन्धको मात्रै विषय रहेको देखिन्छ ।
    यस्तो सामान्य विषयलाई लिएर यस किसिमको नरसंहारको पाशविक घटना हुनु झनै दुःखद हो । त्यसैले नवराजका साथै उसको प्रेमलाई मूर्त रूप दिन उसलाई सहयोग गर्न जाने क्रममा आफ्नो अमूल्य जीवन गुमाएकाहरूका लागि पनि सँगै न्यायको आवाज उठ्नुपर्छ । घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ । यस्ता जघन्य मानव अधिकार उलंघनको घटनामा कुनै सम्झौता गरिनु हुन्न । दोषीमाथि कानुन बमोजिम हदैसम्मको कारवाही गर्दै यस्ता घटना पुनः नदोहोरिउन् भन्ने कुरामा सचेत हुनुपर्छ भन्ने नै मुख्य आशय हो ।
    शिक्षक: श्री चन्द्रावती मावि बेलघारी तीनपाटन, सिन्धुली ।