हरिहरपुरगढीमा ७२ करोड भन्दा धेरै बजेट, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकता
सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको २३औँ गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँसभामा गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले नीति तथा कार्यक्रम र उपाध्यक्ष चेख बहादुर थिङले बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले आगामी आर्थिक वर्षका लागि कूल रु. ७२ करोड ३१ लाख ५६ हजारको बजेट प्रस्तुत गर्नुभयो । विनियोजित बजेटमा वडागत कार्यक्रमहरुका लागि रु. ४ करोड, कार्यालय प्रशासन तथा प्रशासनिक खर्चतर्फ रु. १५ करोड ६२ लाख ८४ हजार, सशर्त अनुदान चालु रु. २१ करोड ७४ लाख २५ हजार, सशर्त अनुदान पुँजीगत रु. ७ करोड ३४ लाख, वार्षिक विकासतर्फ रु. २ करोड ११ लाख, पूर्वाधार विकासतर्फ रु. १७ करोड ३४ लाख २८ हजार ७००, सामाजिक विकासतर्फ रु. ३३ करोड ६० लाख ४६ हजार ३००, वन वातावरण तथा विपद् रु. ४० लाख, राष्ट्रिय रोजगार कार्यक्रमतर्फ रु. ४९ लाख ९७ हजार, प्रकोप व्यवस्थापनमा रु. १० लाख र गत आ.व.को भुक्तानी दायित्व रु. २ करोड ६३ लाख छुट्याइएको उपाध्यक्ष थिङले बताउनुभयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष एवं गाउँसभाका सभाअध्यक्ष वज्रध्वज वाइबाले स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भई कार्य प्रारम्भ गरेको ४ वर्ष पूरा भइसकेकोले यस अवधिमा गाउँपालिकाबाट भएका कार्यसम्पादनको मूल्याङ्कन गर्ने अभिभारा आम गाउँबासीलाई नै सुम्पिएको घोषणा गर्नुभयो ।
“समृद्ध हरिहरपुरगढी गाउँपालिकाको आधारः शिक्षा, स्वास्थ्य, कृषि, वन, पर्यटन र पूर्वाधार“ नारासहित प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । “जहाँ उत्पादन, त्यहाँ अनुदान“ भन्ने नाराका साथ कृषि उत्पादनको वृद्धि तथा दिगोपनाका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम बृहत् रुपमा सञ्चालन गरिने, गाँजाखेतीको विषयमा कानुनी अध्ययन गरिने, “मेक इन हरिहरपुरगढी, मेड इन हरिहरपुरगढी“ लाई प्राथमिकतामा राखी स्थानीय उत्पादनको विकास, विस्तार र प्रवद्र्धन गरिने, सबै विद्यालयहरुमा कक्षा ७ देखि हरेक शुक्रबार हाफ टाईमपछि “बुक–फ्री डे” लागू गरी अनिवार्य रुपमा हाजिरीजवाफ तथा विद्यार्थीलाई सीपसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने उहाँले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
“हरिहरपुरगढी बन्दै छ, बा–आमालाई सन्चै छ” भन्ने नाराका साथ नसर्ने रोगहरू, खासगरी मुटु तथा रक्तनली, दम, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मिर्गौला रोगजस्ता रोगहरूको प्रकोप न्यूनीकरण गर्न तथा समयमै निदान गर्न टोल–टोलमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसहित एकीकृत घुम्ती शिविर सञ्चालन गरिने, आगामी आर्थिक वर्षलाई “पूर्ण खानेपानी पहुँच वर्ष” का रूपमा कार्यान्वयन गर्दै गाउँपालिकाभित्र रहेका खानेपानी समस्यालाई निर्मूल गरिने लगायतका कार्यक्रम अध्यक्ष वाईबाले घोषणा गर्नुभएको छ
गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले गाउँसभामा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुहुँदै उहाँले स्थानीय सरकारको दोस्रो कार्यकालको पाँचौं वर्षमा प्रवेश भइसकेको उल्लेख गर्नुहुँदै चार वर्षको अवधि केवल समयको गणनामात्र नभई अनुभव, सिकाइ, उपलब्धि र आत्ममूल्यांकनको समय भएको बताउनुभयो । चार वर्षको अवधिमा अनेकौं चुनौतीकाहरु बीच पनि विभिन्न क्षेत्रमा पर्याप्त उपलब्धि हासिल भएको जानकारी दिनुहुँदै उहाँले यो उपलब्धि हासिल गर्न सबैको सामूहिक प्रयासबाट सम्भव भएको बताउनुभयो ।



