माध्यमिक तहका शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम
सिन्धुली/सिन्धुलीमा आज मंगलबार माध्यमिक तहका शिक्षकहरूका लागि बालबालिकाको मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने उदेश्यले विद्यालयका शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम गरीएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा सिविन नेपालको आयोजनामा भएको स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगरभित्रका ३१ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय फ्रेस्रेटारका विद्यालय नर्स सन्ध्या ढकाल र बरणदेवी माध्यमिक विद्यालय खट्टारका नर्स मन्दिरा श्रेष्ठले बिभिन्न विद्यालयबाट सहभागि भएका शिक्षकहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँहरुले बालबालिका तथा किशोरकिशोरीमा देखिने प्रमुख मानसिक समस्याहरू जस्तैः बौद्धिक विकासमा ढिलाइ, अटिजम, व्यवहारसम्बन्धी समस्या, चिन्ता, उदासीनता लगायतका अन्य प्रमुख समस्याहरूबारे भिडियो मार्फत जानकारी गराउनुभएको थियो भने कार्यक्रममा सहभागी शिक्षकहरूले हाल सम्म आफ्ना विद्यालयमा देखिएका समस्याहरु आदानप्रदान गर्नुभएका थियो ।
विद्यालयहरूलाई एक महत्वपूर्ण संरक्षणात्मक वातावरणका रूपमा स्थापित गर्दै प्रारम्भिक पहिचान, मनोसामाजिक सहयोग तथा समयमै सिफारिस (रिफरल) गर्न सकेमा बालबालिकाको समग्र कल्याणमा महत्वपूर्ण सुधार ल्याउन सकिने सिविन नेपालका कम्युनिकेशन म्यानेजर प्रमिला मानन्धरले जानकारी दिनुभयो ।त्यस्तै उहाँले परिवार तथा समुदायमा अनियन्त्रित मदिरा सेवनले बालबालिकामा तनाव, उपेक्षा, हिंसा तथा भावनात्मक असुरक्षा बढाउन सक्ने उल्लेख गर्नुभयो ।
त्यस्तै उहाँको अनुसार भोलि पनि कमलामाई नगरपालिकामा बाँकी रहेका शिक्षकहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ । सुनकोसी गाउँपालिकामा पनि यस्तै कार्यक्रम गर्ने तयारी भएको मानन्धरले बताउनुभयो । यस अघि भने जिल्लाको मरिण गाउँपालिकामा उक्त कार्यक्रम गरीएको थियो ।
उक्त कार्यक्रमले विद्यालयहरूमा बालबालिका तथा किशोरकिशोरीहरूको मानसिक स्वास्थ्य सम्बन्धी सचेतना र सहयोग प्रणाली सुदृढ गर्ने प्रयासलाई अझ विस्तार गर्ने अपेक्षा गरीएको छ



