जनस्वास्थ्य कार्यालय सिन्धुलीको बजेट खर्च ८८ प्रतिशत, प्रदेशतर्फ ९५ प्रतिशत प्रगति

सिन्धुली/जनस्वास्थ्य कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ८८.२२ प्रतिशत खर्च गरेको छ ।

स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनका लागि विनियोजित ६ करोड ८ लाख २ हजार रुपैयाँमध्ये कार्यालयले ५ करोड ३६ लाख ४१ हजार रुपैयाँ खर्च गरेको हो ।

कार्यालयको तथ्यांक अनुसार संघीय सशर्त अनुदानतर्फ विनियोजित बजेटको तुलनामा खर्च प्रगति कमजोर देखिएको छ भने प्रदेश सशर्त अनुदानतर्फ प्रगति भएको छ ।

संघीय सशर्त अनुदानतर्फ १ करोड ९२ लाख ७१ हजार रुपैयाँ विनियोजन भएकामा १ करोड ४१ लाख २८ हजार रुपैयाँ खर्च भएको छ भने यस शीर्षकमा वित्तीय प्रगति ७३.३ प्रतिशत र भौतिक प्रगति ७८ प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेश सशर्त अनुदानतर्फ ३ करोड ९५ लाख ५६ हजार रुपैयाँ विनियोजन भएकोमा ३ करोड ७७ लाख ६ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ भने यता प्रदेशतर्फ वित्तीय प्रगति ९५.३ प्रतिशत र भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ ।

संघीय तथा प्रदेश विशेष अनुदानतर्फ भने १९ लाख ७५ हजार रुपैयाँ बजेटमध्ये १८ लाख ७ हजार रुपैयाँ खर्च भएको छ । उक्त शीर्षकमा वित्तीय प्रगति ९१.४९ प्रतिशत र भौतिक प्रगति ९९ प्रतिशत रहेको छ ।

कार्यालयले विनियोजित बजेट मुख्यगरी परिवार कल्याण, खोप, मातृ तथा नवजात शिशुको स्वास्थ्यलगायतका कार्यक्रम सञ्चालनमा परिचालन गर्दै आएको छ । यसका अतिरिक्त स्वास्थ्य सेवा प्रवाह, विद्यालयस्तरीय स्वास्थ्य कार्यक्रम, स्वास्थ्यकर्मीको क्षमता विकास, तालिम, गोष्ठी, अनुगमन तथा मूल्यांकन र जनचेतनामूलक गतिविधिमा समेत बजेट खर्च हुने गरेको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलको अनुसार बजेटलाई लक्षित वर्गसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले परिचालन गरिएको छ । त्यस्तै कार्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, तालिम तथा गोष्ठी, राष्ट्रियस्तरका स्वास्थ्य कार्यक्रम र जिल्लास्तरीय समीक्षा आगामी वर्षका प्राथमिकतामा रहने उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *