बजारमा दशैंको रौनक, घर फर्कने र किनमेल गर्नेको चहलपहल
सिन्धुली/बजारका पसलमा झुन्डिएका रङ्गीबिरङ्गी कपडा, सामान छान्न व्यस्त ग्राहक र किनमेलमा दौडधुप गरिरहेका सर्वसाधारण ।
केही दिनअघिसम्म सुनसानजस्तै देखिने सिन्धुलीमाढी बजारमा अहिले दशैंको रौनक छाएको छ । नजिकिँदै गरेको नेपालीहरुकको महान् चाड बडादशैं र तिहारले बजारमा चहलपहल बढाएको छ भने व्यापारीहरूमा पनि व्यापार बढ्ने आशा पलाएको छ ।
दशैं भन्नासाथ नयाँ लुगा, मीठोमसिनो खानेकुरा, परिवारसँगको भेटघाट र आफन्तसँग खुसी साटासाट गर्ने क्षणको सम्झना आउँछ । यही खुसीलाई स्वागत गर्न यतिबेला सिन्धुलीमाढी बजारमा किनमेल गर्नेहरूको भीड बढ्दै गएको छ । कोही परिवारका सदस्यका लागि नयाँ कपडा किन्न व्यस्त छन् त कोही घरमा आवश्यक सामग्री जुटाउन बजार धाइरहेका छन् ।

गत सातादेखि बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेको हो । धुरा बजार, बसपार्क आसपास, स्टल बजार, १ नम्बर बजार र २ नम्बर बजारलगायतका क्षेत्रमा किनमेल गर्नेको भीड देखिन थालेको छ । जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण आवश्यक सामान खरिद गर्न सदरमुकाम आउन थालेपछि बजारको चहलपहल थप बढेको छ ।

चाडपर्व नजिकिनुअघि खासै चहलपहल नदेखिने सिन्धुलीमाढी बजारका पसलमा अहिले ग्राहकको आवागमन बढेको छ । ग्राहकको प्रतीक्षामा दिन बिताउने व्यापारीहरू यतिबेला सामान देखाउन र बिक्री गर्न व्यस्त देखिन्छन् । विशेषगरी लत्ताकपडा पसलमा दशैंको किनमेल गर्नेहरूको चहलपहल बढेको छ ।
सिन्धुलीमाढीमा विगत ६ वर्षदेखि फेन्सी व्यवसाय सञ्चालन गर्दै आउनुभएका श्रिया कपडा पसलका सञ्चालक राम थापा पछिल्लो एक सातादेखि बजारमा ग्राहकको भीड बढ्दै गएको बताउनुहुन्छ ।
उहाँका अनुसार ग्राहकको चहलपहल बढेसँगै व्यापारमा पनि सुधार आएको छ । चाडपर्वको समयमा नयाँ कपडा किन्ने चलनले फेन्सी व्यवसायमा उत्साह थपेको छ ।
वर्षभरि व्यापारको प्रतीक्षामा रहने साना तथा खुद्रा व्यवसायीहरुका लागि पनि दशैं-तिहारको समय विशेष महत्त्वपूर्ण मानिन्छ । चाडपर्वमा हुने किनमेलले व्यापार बढाउने भएकाले पनि व्यवसायीहरू यो समयलाई आशाका साथ हेर्ने गर्छन् ।
दशैंको रौनक बजारमा मात्र सीमित छैन । रोजगारी, व्यापार तथा अध्ययनका सिलसिलामा घरपरिवारबाट टाढा रहेका नेपालीहरू पनि यतिबेला चाडपर्व मनाउन घर फर्कने तयारीमा छन् । वर्षभरि आ-आफ्नो काममा व्यस्त रहनेहरूका लागि दशैं-तिहार परिवारसँग भेटघाट गर्ने, आफन्तसँग खुसी साट्ने र सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पनि हो ।
घर फर्कने तयारीसँगै परिवारका सदस्यका लागि नयाँ कपडा किन्ने, घरमा आवश्यक सामग्री जुटाउने र चाडपर्वको तयारी पूरा गर्ने क्रम बढ्दै गएको छ । बजारमा देखिएको चहलपहलले पनि घरघरमा दशैंको प्रतीक्षा सुरु भइसकेको संकेत प्रष्ट देखिएको छ ।

नेपाली समाजमा दशैंलाई टीका, जमरा, आशीर्वाद र पारिवारिक मिलनको पर्वका रूपमा लिइन्छ भने तिहारले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता र आपसी सद्भावलाई अझ प्रगाढ बनाउँछ । यी पर्वको आगमनसँगै बजारदेखि घरआँगनसम्म खुसी र उमङ्ग फैलिन थालेको छ ।
सिन्धुलीमाढीका सडक र पसलमा बढ्दै गएको भीडले चाडपर्व नजिकिएको आभास गराएको छ । ग्राहकको चहलपहल, व्यापारीको व्यस्तता र घर फर्कनेहरूको उत्साहले सिन्धुलीमाढीलाई क्रमशः उत्सवमय बनाउँदै लगेको छ । दशैं-तिहारको यही रौनकले बजारमा व्यापारको आशा र सर्वसाधारणको मनमा चाडपर्वको उमङ्ग थपेको छ ।




