सिन्धुलीमा ब्राउन सुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिका-७ पोखरेबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको अनुसार बुधबार बिहान करिब १०ः३० बजे प्रहरी चौकी दुधौलीबाट खटिएको टोलीले पोखरेस्थित सडकमा सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा इटहरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१-००७ ख १४५३ नम्बरको हायसलाई रोकेको थियो ।
चेकजाँचका क्रममा हायसमा सवार सप्तरीको छिन्नमस्ता गाउँपालिका-४ निवासी ३२ वर्षीय कृष्ण कुमार यादव र सोही स्थानका २१ वर्षीय देवेन्द्र यादवको साथबाट ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद पदार्थको तौल प्लास्टिकबाहेक ५ ग्राम ३ मिलिग्राम रहेको प्रहरीको भनाइ छ । पदार्थ फेला परेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


