कुमार ढकाल फेरि मैदानमा
सिन्धुली /नेपाली कांग्रेसका क्षेत्र नं. २- सिन्धुलीका क्षेत्रीय सभापति कुमार ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुला तर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी सार्वजनिक गर्नुभएको छ ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न तहका अधिवेशन सम्पन्न भए सँगै अहिले केन्द्रीय महाधिवेशनको तयारी अघि बढाइरहेको छ ।
सिन्धुलीका ९ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन तथा क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा ढकालले महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको हो ।
पार्टीको आधिकारिक निर्वाचन कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ । महाधिवेशन नजिकिँदै गर्दा विभिन्न तहमा उम्मेदवारी घोषणा र प्रतिनिधिहरूसँग समर्थन माग्ने क्रम समेत बढ्दै गएको छ ।
ढकालले १५औँ महाधिवेशनका लागि निर्वाचित सम्पूर्ण नगरपालिका, गाउँपालिका तथा वडा सभापति एवं प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो उम्मेदवारीमा साथ र समर्थन गर्न अपिल समेत गर्नुभएको छ ।
विगतका दिनमा आफूले प्राप्त गर्नुभएको माया, विश्वास र साथलाई आधार बनाउँदै पुनः महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको उहाँले बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “हिजोको दिनमा पनि तपाईंहरूबाटै प्राप्त माया, विश्वासलाई आधार मानेर यस १५औँ महाधिवेशनमा खुला तर्फ महाधिवेशन प्रतिनिधिको रूपमा उम्मेदवारी दिएको छु । तपाईंहरूले आफ्नो अमूल्य मत प्रदान गरी पुनः विजयी गराइदिनुहुन्छ भन्ने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।”
पार्टी संगठनलाई थप सुदृढ बनाउँदै नेपाली कांग्रेसलाई अझ बलियो र प्रभावकारी बनाउन आफूले निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै ढकालले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र विश्वासको अपेक्षा गरेको बताउनुभयो ।उहाँले आफ्नो उम्मेदवारीसँगै “बलियो कांग्रेस, समृद्ध नेपाल” भन्ने नारालाई अघि सार्नुभएको छ ।


