बीपी राजमार्गमा राति कुखुरा बोकेका गाडी चलाउन माग
सिन्धुली/बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा लगाइएको रोकका कारण कुखुरा ढुवानीमा समस्या भएको भन्दै सिन्धुली उद्योग वाणिज्य संघले प्रशासनसँग विशेष सहजीकरण माग गरेको छ ।
संघले मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापनपत्र बुझाउँदै कुखुरा बोकेका सवारीसाधनलाई रातिको समयमा समेत बीपी राजमार्ग हुँदै आवतजावत गर्न दिन आग्रह गरेको हो ।
रातिको समयमा राजमार्ग बन्द हुँदा काठमाडौं लगायतका बजारमा पठाउनुपर्ने कुखुरा दिउँसै ढुवानी गर्नुपर्ने अवस्था रहेको संघले जनाएको छ । दिउँसोको अत्यधिक गर्मी र राजमार्गमा हुने जामका कारण कुखुरा बोकेका सवारीसाधन लामो समयसम्म बाटोमै रोकिने गरेका छन् ।
यसरी गाडीभित्र लामो समय रहँदा ठूलो संख्यामा कुखुरा मर्ने गरेको संघको भनाइ छ । कुखुरा मर्दा कृषक र व्यवसायी दुवैले आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै संघले समस्या समाधानका लागि प्रशासनको ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष अर्जुन श्रेष्ठले कृषक तथा व्यवसायीबाट कुखुरा ढुवानीमा समस्या भएको गुनासो आएपछि प्रशासनसमक्ष ज्ञापनपत्र बुझाइएको बताउनुभयो ।
संघले कुखुरा ढुवानीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक व्यवस्था मिलाउन माग गरेको छ ।


