सिन्धुलीमा बढ्दो आत्महत्या : एक वर्षमै ८७ जनाले गुमाए ज्यान
सिन्धुली/सिन्धुलीमा आत्महत्याको संख्या घट्नुको सट्टा वर्षेनी उकालो लागिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार एक वर्षअघि ७७ जनाले आत्महत्या गरेको जिल्लामा पछिल्लो आर्थिक वर्षमा यो संख्या बढेर ८७ पुगेको छ । एक वर्षमै थप १० जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो एक वर्षको तथ्यांक हेर्दा आत्महत्याका घटना कुनै एक समय वा महिनामा मात्र सीमित छैनन् । साउनमा ४ जनाबाट सुरु भएको संख्या असारसम्म आइपुग्दा १२ पुगेको छ । फागुन र वैशाखमा ११/११ कात्तिक र चैतमा ९/९ तथा असोज र पुसमा ७/७ वटा घटना भएका छन् । मंसिरमा भने एक जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।
८७ जनाको यो तथ्यांकभित्र ५० पुरुष, २५ महिला, ७ बालिका र ५ बालक छन् । उमेर समूह हेर्दा २५ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरूको संख्या बढी रहेको प्रहरीले जनाएको छ ।
यही तथ्यांकले सिन्धुलीमा आत्महत्या रोकथामको प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्ने संकेत गरेको छ । विशेषगरी युवा उमेर समूहमा घटना बढी देखिनुले परिवार, समुदाय र सरोकारवाला निकायको ध्यान त्यतातर्फ केन्द्रित गर्नुपर्ने देखिन्छ ।
आत्महत्याको कारण सबै घटनामा एउटै हुँदैन । पारिवारिक समस्या, आर्थिक तनाव, सम्बन्धमा आएको संकट, मानसिक स्वास्थ्य लगायत विभिन्न पक्षले व्यक्तिको जीवनमा असर पार्न सक्छन् । त्यसैले घटना भएपछि कारण खोज्नुभन्दा समस्या र संकटमा रहेका व्यक्तिलाई समयमै पहिचान गरेर सहयोग गर्नु रोकथामको महत्वपूर्ण उपाय हुन सक्छ ।
आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य सम्बन्धी परामर्श सेवा गाउँ-गाउँसम्म पु¥याउनुपर्ने आवश्यकता छ । विद्यालय र समुदायमा मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने वातावरण बनाउनुका साथै संकटमा रहेका व्यक्तिको कुरा सुन्ने र आवश्यक सहयोगसम्म पु¥याउने संयन्त्र बलियो बनाउन आवश्यक देखिन्छ ।


