भोटेकोशी बाढीपीडितलाई तीनपाटनले दियो ४७ लाख ६१ हजार

सिन्धुली/भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सिन्धुलीको तीनपाटन गाउँपालिकाले ४७ लाख ६१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको  भदौ १८ गतेको निर्णय अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको पालिकाले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र तनहुँमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ भने विपद्बाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभ, सुरक्षित पुनस्र्थापना र सहज जनजीवनको कामना गरेको छ ।

राहतका लागि छुट्टै रकम विनियोजन गर्नुका साथै जनप्रतिनिधि, कर्मचारी र विद्यालयका शिक्षक कर्मचारीको तलबबाट योगदान जुटाएर सहयोग रकम तयार गरिएको गाउँपालिकाले प्रकाशन गरेको पत्रमा उलेख गरीएको छ ।

पालिकाको अनुसार जनप्रतिनिधिबाट ८० हजार रुपैयाँ,गाउँपालिकाका कर्मचारीहरुबाट १२ लाख ८ हजार रुपैयाँ र विद्यालय शिक्षक कर्मचारीहरुबाट ३४ लाख ७३ हजार रुपैयाँ गरी तीनै समूहबाट गरी ४७ लाख ६१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

गाउँपालिकाको अनुसार अध्यक्ष र उपाध्यक्षको ७ दिनको तलब, कार्यपालिका सदस्यको ५ दिनको तथा गाउँ सभाका सदस्यको २ दिनको तलबबाट जनप्रतिनिधिको योगदान जुटाइएको हो ।

त्यस्तै अधिकृत स्तरका कर्मचारीको ७ दिन, सहायक स्तरका कर्मचारीको ५ दिन र श्रेणी विहीन कर्मचारीको २ दिनको तलब बराबरको रकम कर्मचारीबाट योगदान गरिएको छ ।

विद्यालयतर्फ विभिन्न तहका शिक्षक तथा लेखा सहायक, बालविकास सहजकर्ता, सामुदायिक अध्ययन केन्द्र परिचालक र विद्यालय सहयोगीको निर्धारित दिनको तलब बराबरको रकम योगदान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले राष्ट्रिय विपद्को यस घडीमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *