खाजा खर्च कटाएर रसुवा बाढीपीडितलाई ४३ हजार सहयोग
सिन्धुली/भोटेकोशीमा आएको बाढीका कारण विपत्तिमा परेकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम जारी छ ।
यसै क्रममा सिन्धुलीको एक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर बाढी तथा पहिरो पीडितका लागि सहयोग गरेका छन् ।
सिन्धुलीको मरिण गाउँपालिका ७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम बचत गरी ४३ हजार ७० रुपैयाँ संकलन गरेका छन् । विद्यार्थीहरूले संकलन गरेको उक्त रकम रसुवा बाढी तथा पहिरो पीडितका लागि राहत कोषमा जम्मा गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक अमृत घिसिङका अनुसार विद्यार्थीहरूले आफ्नै दैनिक खाजा खर्चबाट रकम बचत गरी विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम संकलन गरेका हुन् ।

आफ्नो खाजा खर्च कटाएर पीडितका लागि सहयोग जुटाएका विद्यार्थीहरूको यो पहलले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहकार्यको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ । विद्यार्थीहरूको सानो त्यागले विपद्मा परेका नागरिकप्रति ठूलो साथ र सहानुभूतिको सन्देश दिएको देखिन्छ ।


